भारतको नयाँ नक्सामा समेटियो कालापानी क्षेत्र, सीमा विवाद फेरि सतहमा

कार्तिक १९, काठमाडौं । भारत सरकारले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा विवादास्पद कालापानी क्षेत्र सीमामा समेटेपछि नेपाल–भारतबीचको सीमा विवाद फेरि सतहमा आएको छ ।
भारत सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेसँगै नेपाल–भारत सीमा विवाद सतहमा आएको हो ।
भारतले जम्मू–कश्मीरलाई दिँदै आएको विशेष दर्जा खारेज गर्दै केन्द्र शासित दुई प्रान्तमा विभाजन गर्ने निर्णय औपचारिक रुपमा लागु भएको दिन गएको आइतबार जारी गरेको नक्सामा नेपालको दाबी रहँदै आएको कालापानी क्षेत्र आफ्नो नक्सामा पारेको देखिएपछि नेपाल सरकारले पनि यसमा चासो व्यक्त गरेको छ ।

भारतद्वारा जारी नयाँ राजनीतिक नक्साको नेपालले विरोध गर्नुपर्ने लगायतका कुराहरू पनि उठिरहेका छन् ।
यस्तैमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले भारतले जारी गरेको नयाँ नक्सा आपत्तिजनक र अस्वीकार्य भएको भन्दै त्यसमा आपत्ति जनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
थापाले ट्वीटमा लेखेका छन्, ‘कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो। भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ। यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यान जाओस्।’
भारतले गएको अगस्ट ५ मा संविधानको धारा ३७० र ३५ ए खारेज गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको थियो । सो निर्णय आइतबारदेखि लागु भएको हो । सोही दिन जारी भएको नयाँ नक्सामा भारतले कालापानी क्षेत्र आफ्नो सीमामा समेटेको हो ।
कालापानीमा नेपाल र भारतको दाबी रहँदै आएको छ । सो क्षेत्रमा नेपाल–भारत–चीन जोड्ने मार्ग बनाउने विषयमा सहमति समेत भएको थियो।








