धरानमा उपनिर्वाचनका लागि कांग्रेसको घरदैलो

कात्तिक २६, धरान । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको लागि नेपाली कांग्रेस धरान नगर समितिले घरदैलो कार्यक्रम गरिरहेकाे छ । धरान नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार तिलक राईलाई जिताउन धरान वडा नं १५ को उत्तर पुर्वी एरिया निराजन बस्ती लगायतका स्थानहरुमा घरदैलो कार्यक्रम भएको छ ।
सोमबार धरान–१५ स्थित पिण्डेश्बर चोकबाट उम्मेद्वार तिलक राई सहित निस्किएको कांग्रेसको घरदैलो अभियानमा उम्मेद्वारसँगै स्थानीय कार्यकर्ता तथा जनताको उल्लेख्य सहभागिता थियो ।
घरदैलो कार्यक्रममा हज्जारौंको संख्यामा मतदाता र कांग्रेस कार्यकर्ताहरुको सहभागीता रहेको पार्टीले जनाएको छ । घरदैलो कार्यक्रममा मेयरका प्रत्यासी तिलक राईले भोट माग्ने क्रममा जनताका गुनासाहरु पनि सुनेका थिए ।

जहाँ जनताहरुले धरान नगरले अत्याधिक करको भार थोपरेको, सुकुम्बासी समस्या समाधान नगरेको, नगरपालिकाले सुशासनको प्रत्याभुति नदेखाएको, बसपार्क बनाउनुपर्ने लगायतका गुनासा गरेका नेपाली कांग्रेस चुनाव प्रचार प्रसार मुल समिति सदस्य प्रेम पराजुलीले बताए ।








