कन्दङ्वालाई अर्को पटक टिकट सहमति गरेपछि धरानमा सुवेदीको उम्मेद्वारी

कात्तिक २८, काठमाडौं । मंसिर १४ गते हुन गइरहेको निर्वाचनमा दैशैभरीको ध्यान केन्द्रीत भईरहँदा धरानको नेकपामा भने उम्मेद्वार छनौटमा पार्टी भित्रै कसलाई उम्मेद्वारी दिनेमा किचलो भयो ।   

यहि किचलोमा धरान उपमहानगरपालिका वडा नं. ७ को वडाध्यक्षका लागि भने नेकपाले अर्को चुनाबका लागि समेत सहमति गरेको छ ।  ७ नं. वडा समितिको अध्यक्षका लागि नेकपाले तत्कालीन नेकपा एमालेका जिवनराज सुवेदीलाई उम्मेद्वार बनाउँदा तत्कालिन माओवादी केन्द्रका धनकुमार कन्दङ्वालाई अर्को स्थानीय निकायको निर्वाचनमा टिकट दिने सहमति गरेको छ ।   

निर्वाचन आयोगले हिजो उम्मेद्वारी दर्ता गर्न नेकपालाई दिउसो १ बजेसम्मको समय छुट्याएको थियो । तर, समय २ घण्टा मात्रै बाँकी रहँदा पनि नेकपाले ७ नं. वडाको उम्मेद्वार टुंगो लगाउन सकेको थिएन । ७ नं. वडाका लागि जीवनराज सुवेदी र धनकुमार कन्दङ्वा विच रस्साकस्सी चलेपनि विवाद मिलाउन पार्टीले अर्को निर्वाचनमा धनकुमार कन्दङ्वालाई नै अध्यक्षमा उठाउने सहमति गरेको हो । 

मेयर पदमा पूर्व एमाले पक्षका प्रकाश राईलाई उम्मेद्वार बनाएपछि पूर्व माओवादी पक्षले ७ नम्बर वडाको अध्यक्षमा धनकुमार कन्दङ्वा (लिम्बु) लाई अघि सारेको थियो ।   

पार्टी एकतालाई मजबुद बनाउन र व्यवहारिक सन्देश प्रवाह गर्न माओवादी पक्षले मेयरमा फोक्वाहाङ सुब्बा (चोत्लुङ) लाई अघि सारेको थियो तर, केन्द्रबाट प्रकाश राईलाई मेयरको उम्मेद्वार बनाएपछि ७ नं. वडाको अध्यक्ष आफनो भागमा हुनैपर्ने तर्क पुर्व माओवादी केन्द्रले अघि सारेको थियो । 

प्रदेश, जिल्ला र नगर सम्मका नेताहरुको संयुक्त छलफल पछि अहिलेको उपनिर्वाचन अघिल्लो निर्वाचनकै परिपुरक भएकोले साविक एमाले पक्षबाटै निरन्तरता दिने र अढाई वर्षपछि हुने अर्को निर्वाचनमा अहिले सिफारिस भएका नेतालाई पार्टीले उम्मेद्वार बनाउने सहमति भएको नेकपाका एक स्थानीय नेताले बताए ।   

वडा अध्यक्षका आकांक्षी कन्दङ्वाले पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले नै सबै साथीहरुका अगाडी अर्को निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वार बनाउने प्रतिबद्धता गरेपछि जीवनराज सुबेदीलाई जिताउन आफ्नै नेतृत्वमा वडामा चुनाव प्रचार गर्ने निर्णय भएको बताए । ‘मलाई विश्वास छ यस पटक जीवन कमरेडले जित्नुहुनेछ र आगामी दिनमा म वडाको अध्यक्ष बन्दा मलाई सहयोग हुनेछ ।’ उनले भने ।   

सुवेदी यसअघि पनि धरान ७ को वडा अध्यक्ष भएका थिए । किचलोका बीच उम्मेद्वारी पाएका सुवेदीलाई विजयी गराउन वडामा अभियान सञ्चालन भईरहेको छ । वडामा नेकपाबाट सुवेदी, नेपाली कांग्रेसबाट सुवर्ण मोहन पलिखे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश शाक्य र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नीता राईले उम्मेद्वारी दर्ता गराएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *