टुटल र पठाओ हैन सरकार ! चर्को भाडा असुल्ने ट्याक्सी चालकका लाइसेन्स खारेज गरिदेऊ

साँढे आठै बजे खाना खाएर सार्वजनिक बस चढेर कार्यालय आउनु पर्ने केहि दिन देखिको मेरो बाध्यता थियो ।
आफुसँग भएको सवारी बेचेर अर्को लिने चक्करमा मैले असोज अन्तिम सातादेखि सार्वजनिक यातायात, बस ट्याक्सी, टेम्पो त कुनै बेला टुटल र पठाओका सेवा प्रयोग गर्नु परिरहेको छ । १० वर्ष भएको थियो मोटरसाइकल चलाउन थालेको ब्याक बोनमा समस्या देखा पर्यो । ‘अब कि कम्प्लिट बेड रेस्ट कि बाइक रेस्ट’ सहारा फिजियोथेरापीका डा. राम लम्सालले ६ महिनाअघि भन्नु भएको वाक्य याद आउँछ, जतिबेला ढाढ दुखेर मरणासन्न हुन्छु । १५ दिन जस्तो नियमित थेरापी र डा. राम लम्सालको निगरानीमा भएको एक्सरसाइजले दुखाई त केहि कम भयो तर, मनमा डर चैं अझै हराएको थिएन बल्झिन्छ कि भनेर । त्यही भएर मोटरसाइकल नै नचढ्ने अठोट गरें ।
तर, राजधानीमा सार्वजनिक यातायातमा आवतजावत गर्न कहाँ सजिलो हुँदो रहेछ र ! कार्यालय र घरको दुरी करिब १० किलोमिटर छ । त्यसमाथि म बसेको एरियाको बाटो संभवतः काठमाडौंकै सबैभन्दा ब्यस्त र लथालिंग छ । दैनिक ४० लाख सवारी गुड्ने काठमाडौंमा चावहिल जोरपाटीको बाटोभन्ने वित्तिकै त्यहाँको दुर्दशा बच्चाबच्चाले भन्न सक्छन् ।

तैपनी शारीरिक अस्वस्थताले नहुँदा नहुँदै केहि समय मोटरसाइकल नै चढ्ने निर्णय गरें । तर, शरीरले नै साथ नदिएपनि मनले केहि गर्न सक्दो रहेनछ । गएको दशैं पछि मोटरसाइकल नै नचढ्ने निर्णय गर्दै त्यसको विकल्पमा सार्वजनिक सवारी चढ्ने निर्णय गरें । तर, समृद्ध नेपालको परिकल्पना गरेको मेरो ओली सरकारले राजधानीका बाटा समेत बनाउन सकेको छैन । सायद यो जुनीमा समृद्ध नेपाल कागजमै सिमित होला जस्तो लाग्छ ।
आजकै कुरा गरौं ।
साँढे आठ बजे घरबाट कार्यालयका लागि बस स्टेण्ड गएँ, चावहिल जाने माइक्रो लागी रहेको रहेछ । माइक्रोका अघिल्तिर र विचका सिट प्याक भइसकेका रहेछन् अन्तिममा गएर बसें ।
‘ओ दाई यहाँ चार जना बस्नु है ।’ सह चालकले हप्काए जसरी भने । मलाई थाहा थियो त्यो तीन जनाको सिटमा चार जना बस्नै पर्छ । त्यहि भएर झ्यालतिरै कोचिए ।
माइक्रो हिँड्न लाग्दासम्म लगभग सीट भरिइसकेका थिए । अलिक अगाडी गएपछि दुई जना अलिक मोटो ज्यान भएका महिला दिदिबहिनी चढ्नु भयो । लास्टको सिटमा हामी तीन जना थियौं । एक जना महिलालाई ठाउँ दिनुपर्ने भयो । तर, त्यहाँ हामी ३ जना मध्ये अर्को एक जना पनि उस्तै मोटो ज्यानको हुनुहुन्थ्यो, त्यसमाथि उहाँसँग सानो बच्चापनि । ति महिलालाई सिट निकाल्नै सकिएन । माइक्रो उसै त होचो, आधा उभिएर खाल्डाखुल्डी भएको बाटोमा यात्रा गर्न कहाँ सकिन्छ र ! अलिक अगाडी लागेपछि ती महिलाले ‘थोरै भएपनि ठाउँ दिनुस’ भनिन् । हामी अझै टाँस्सिएर बस्यौं । विचमा ती महिलाले आफ्नो बडेमाको ज्यान विसाइन ।
माइक्रो जोरपाटी आइसक्दा अब उभिने ठाउँपनि भएन । सहचालक भने ‘बौद्ध, चावेल, धुम्बाराही, नयाँ बसपार्क, कलंकी सिट खाली’ भन्दै कराउँदै थिए । भित्र हावा छिर्न मुस्किल भइसकेको अवस्थामा सहचालकले ‘सिट खाली, सिट खाली’ भन्दै यात्रु बोलाउँदा माइक्रो भित्रका यात्रुहरु कराउन थाले ‘मान्छे उभिने ठाउँ छैन कता खाँद्ने ।’ हल्ला खल्ला गर्न थालेपनि ड्राइभरले माइक्रो हिँडाए ।
१० बज्नै लाग्यो चावहिल उत्रँदा,
त्यहाँ बाट सफा टेम्पोमा मैतिदेवी आउनु मेरो अर्को रुट हो । बल्ल–बल्ल एउटा माइक्रो आइपुग्यो । सीट खाली नै रहेछ । राजधानीका कुनैपनि सवारीका सीट सफा छैनन् । त्यस्तोमा टेम्पोमा आरामदायी सीट खोज्नु आफ्नै मुर्खता हो । चावहिल, मित्रपार्कका खाल्डाखुल्डीमा टेम्पोले बेस्सरी थेचार्छ । त्यसमाथि आफु परें ढाढको रोगी ।
चावहिलबाट मैतिदेवी आइपुग्न अर्को १ घण्टा लाग्यो । चावहिल, मित्रपार्क, गौशाला, पुरानोबानेश्वर र सेतोपुलमा ट्राफिक जाम नभएको दिन हुँदैन ।
कार्यालय पुग्न लागेको थिएँ । सहकर्मी साथीको फोन आयो ‘तपाई डकुमेन्ट तयार पारेर एसविआइ बैंक जानुस, म अफिसमा छैन ।’ साथी कार्यालयमा नहुँदा आजकल हात भाँचिएको जस्तै हुन्छ । आफुसँग सवारी छैन, सार्वजनिक सवारीमा जाँदा एउटै काममा दिन वित्छ । साथीभाईको बाइक चलाएरै भएपनि भनेको ठाउँमा जान सहज हुन्थ्यो । दिनदिनै साथीहरुलाई गुहार्दा आफैंलाई लाज लागि सकेको थियो । होस् अब ट्याक्सीमा जानुपर्यो भनेर लागें ।
म पुतलीसडक गएर, मैतिदेवी आएर पुनः बानेश्वर गएर दरबारमार्ग जानुपर्ने थियो । कार्यालयबाट हतार हतार घट्टेकूलो हानिएँ । एउटा ट्याक्सी रहेछ । ‘दाई पुतलीसडक जाउँ न !’ मेरो अनुरोधलाई ती ट्याक्सीवालाले नकारे । ‘यति नजिक के जानु ?’ ट्याक्सी चालकको जवाफ सुनेर उदेक लाग्यो । ‘मिटरमा जति उठ्छ दिइ हाल्छु नी, बरु १०–२० अरु थपिदिउँला ।’
चालक जवाफ दिए ‘३ सय दिनुस जाउँला ।’
‘एक किलोमिटर पनि बाटो छैन तीन सय ? के तरिका हो दिउसै लुट्न खोज्ने ?’ आँखा देखिन मैले ।
अचम्मको नियम रहेछ ट्याक्सीवालाहरुको छोटो दुरीमा जाँदै नजाने । सकेसम्म तीन सय घटि रेट नै नभन्ने ।
ट्याक्सीवाला केही नबोली गयो ।
अर्को ट्याक्सी पनि थिएन । मलाई ढिलो भइसकेको थियो । बल्लबल्ल अर्को ट्याक्सी आयो, २ सयमा मनाएर शेयर मार्केट सम्म गएँ ।
अनामनगर घट्टेकुलोको मोडबाट पुतलीसडकको शेयर मार्केट पुग्दाको भाडा २ सय । अचम्म लाग्यो । काठमाडौंका ट्याक्सीलाई न कानुनले छुन्छ, नत मानवीयताले नै । यिनीहरु प्रमाणित लुटेरा नै हुन् । जसलाई जति लुटेपनि छुट छ ।
पुतलीसडकको काम सकाएर मलाई मैतिदेवी आउनु पर्यो । डिल्लीबजार वान वे हो, पुतलीसडकबाट मैतिदेवी जान मिल्दैन । अर्को ट्याक्सी बोलाएँ । हतारहतार चढ्दै ‘मैतिदेवी लग्दिनुस भने । ‘घुमेर जानुपर्छ ३५० दिनुस है’ ड्राइभरले मिटर चल्दैन भन्ने जवाफ दिए ।
आफुलाई हतारो थियो, दाई २५० दिन्छु जाउँ भने । उनले ३ सय दिनुस भने, बोलेर टाउको दुखाउनु भन्दा ३ सय नै दिन्छु भन्ने लाग्यो । चुपचाप बसें ।
मैतिदेवीमा आधा घण्टा लाग्यो काम सकाउन । त्यसपछि पुनः डकुमेन्ट साइन गराउन नयाँ बानेश्वर जानु थियो । मैतिदेवीबाट नयाँ बानेश्वर चैं ट्याम्पो पाएँ । पुरानो बानेश्वर, मध्य बानेश्वर हुँदै नयाँ बानेश्वर पुग्दा १५ रुपैंया भाडाले काम चल्यो ।
ट्याक्सी चालकको लुटतन्त्र झल्झल्ती आयो । नयाँ बानेश्वरको काम सकाएर पुनः दरबारमार्ग जानु थियो । नयाँ बानेश्वरबाट मसँगै सहकर्मी फिलिप डीसी पनि हुनुभयो । उहाँलाई पुतलीसडक छाडेर म दरबार मार्ग जाने भएँ । दुवैले एउटै ट्याक्सी लियौं । यो पटक भने ट्याक्सी चालक अलिक भलाद्मी परेछन् क्यार चुपचाप मिटरमा हिँडे ।
थापा गाउँ, हनुमानस्थान, अनामनगर, न्युप्लाजा, पुतली सडक, हुँदै दरबार मार्ग पुगियो । म टयाक्सीको मिटर हेरिरहेको छु । केशर महल अगाडी पुग्दा २१० उठेछ । ‘दाई कति भयो ?’ मैले सोधें ।
‘२१० सय उठ्यो सर, तेलको भाउ यस्तो छ, अलिक मिलाएर दिनुस न ।’ भलाद्मी पाराले नै ट्याक्सी चालकले भने । मैले २२५ दिएँ । उनले धन्यवाद भन्दै लिए ।
२ बजी सकेछ । हतार हतार बैंकमा गएर डकुमेन्ट बुझाएँ । राहदानी विभाग अगाडीबाट सार्वजनिक यातायात चढ्ने भेउ थिएन । अफिस फर्कन हतारपनि थियो, ट्याक्सी नै चढ्ने सोच बनाउँदै नारायणहिटी संग्रहालयसम्म हिँडेरै आएँ ।
दरबारमार्ग प्रहरी कार्यालय अघिल्तिर एउटा ट्याक्सी खाली रहेछ । ‘दाई अनामनगर घट्टेकुलो जाउँ न ?’ सोधें ।
‘कति दिनुहुन्छ ?’ ट्याक्सी चालकको सोधनी । ‘अघि नयाँ बानेश्वरबाट केशर महलसम्म आएको २२० तिरें, अनामनगर त अझै नजिक हो कति दिनु ?’
मेरो उत्तर सुनेर ति ट्याक्सी चालकले ‘धर्म गर्न बस्या हैन, नजाने’ कर्कस जवाफ फर्काए ।
‘त्यसो भए मिटरमा जाउँ न त जति उठ्छ दिन्छु !’
‘मिटर चल्दैन, ४ सय दिनुस’
ट्याक्सी चालकले यहाँपनि मलाई लुट्नै आँटेपछि अलिक चर्को स्वरमा भने–‘के आधारमा चार सय दिनु ? जेपनि गर्ने ? ट्राफिक बोलाउँ ?’
‘यस्ता पैसा तिर्न नसक्नेले किन ट्याक्सी खोज्नु ?’ यति भनेर ट्याक्सी स्टार्ट गरेर रित्तै अगाडी गए ती ट्याक्सी चालक ।
ओहो ! समुचित भाडाको कुरा गर्दा, मिटरमा जाउँ भन्दा म त ट्याक्सी नै चढ्न नसक्ने भएछु ! उदेक लाग्यो ।
अलिक अगाडी महेन्द्र शालिक आएपछि एउटा ट्याक्सी पाएँ । र, अनामनगर जान भने, ति ट्याक्सी चालकले केहि नभनी मिटर घुमाए । बाटोभरी केहि बोलेनन् । कतै जाममा परिएन १० मिनेटमै अनामनगर आएँ । १९२ रुपैंया उठेको रहेछ ।
‘कति दिउँ दाई’ मैले भने ।
‘१९२ भयो अलिकति बढाएर दिनुस न’ चालकले जवाफ दिए । मैले २१० रुपैंया दिएँ । केहि नभनी लिए ।
यसरी आज दिनभर ट्याक्सी चालकहरुले लिएको भाडा सम्झँदै कार्यालय आउँदा ३ बजिसकेछ ।
टेवलमा कान्तिपुर दैनिक थियो, सुस्ताउँदै पढ्न थालें, दोस्रो पृष्ठमा ‘टुटल र पठाओलाई फेरी रोक’ शिर्षकमा समाचार रहेछ । २७ वर्षअघि जारी भएको यातायात ब्यवस्था ऐन २०४९ अनुसार निजी सवारी साधनले यात्रु ओसार्न नपाउने प्रावधानका कारण टुटल र पठाओ जस्ता साधनलाई यात्रु ओसारपसारमा यातायात ब्यवस्था कार्यालयले पुनः रोक लगाएको रहेछ ।
एक वर्ष अघिदेखि राजधानीका ट्याक्सी चालकको ठगीबाट जोगिने सजिलो माध्यम बनेको थियो टुटल र पठाओ । बाइक तथा ट्याक्सी समेत एपबाटै बुक गरेर उचित भाडा तिरेर चढ्न सकिने भएकोले लाखौं राजधानीबासीको लागि विस्वासिलो साधन भएको थियो टुटल र पठाओ ।
केहि महिना अघि यातायात कार्यालयले टुटल र पठाओलाई रोक लगाउँदा चौतर्फि आलोचना हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीकै ठाडो निर्देशनमा खुल्ला गरिएको थियो । प्रधानमन्त्रीले ठाडो निर्देशन दिनुमा पठाओ र टुटलको लोकप्रियता, उनीहरुले सर्वसाधारण जनतालाई दिएको सुविधा नै प्रमुख थियो । टुटल र पठाओ जस्ता सेवाहरु विदेशमा समेत प्रचलनमा छन् । सरकारले २१ औं शताब्दिको प्रविधिलाई आत्मसात गरी पठाओ र टुटल लाई नियमन गर्ने कानुन बनाएर चलाउन दिँदा के विग्रन्थ्यो र ? टुटल र पठाओ हैन दिन दहाडै चर्को भाडा असुलेर लूट मच्चाउने ट्याक्सी चालकको लाइसेन्स नै खारेज गर्ने ब्यवस्था गरे कति जाति हुन्थ्यो होला !
टुटल र पठाओका कारण ट्याक्सी चालकहरुको ठगी खाने धन्धा बन्द भएको यातायात ब्यवसायीको भनाई छ । त्यहि भएर उनीहरुले जनता माझ लोकप्रिय साधनलाई नियमावलीको कारण देखाउँदै रोक लगाउन खोजेकोमा दुई मत छैन ।
राजधानीमा चल्ने करिब ८० प्रतिशत ट्याक्सीहरु मिटरमा जाँन मान्दैनन् । जानैपरे उनीहरुलाई मिटरमा उठेको रकम भन्दा केहि बढि नै दिनुपर्छ । कोही कोही त हाक्काहाक्की यात्रुसँग बाझाबाझ गर्छन् । कोही भने, मिटरमा उठेको भन्दा बढाएर दिन अनुरोध गर्छन् । ७ बजेपछि राजधानीका ट्याक्सीका मिटर घुम्दैनन् । घुमेपनी डेढीले घुम्छन् ।
ट्याक्सी चालकले दिउसै लूटतन्त्र मच्चाएका छन् । तर, सरकार ट्याक्सी चालकको लुटतन्त्र रोक्न सक्दैन । बरु जनतालाई सर्वसुलभ सेवा दिएका प्रविधिमैत्री टुटल, पठाओ जस्ता सेवालाई बन्द गराउँन खोज्छ ।
सार्वजनिक सवारी चढिसक्नुका छैनन् । थोत्रा माइक्रो र मिनीबस अझै चक्रपथ हुइकिक्छन् । कार्यालय समय त मान्छेमाथि टेकेर चढ्नुपर्छ । चालक सहचालक शिष्ट छैनन् । गुन्द्रुक झै मान्छे कोच्छन् ।
सायद लोकतन्त्र भनेको हुने खानेहरुका लागि रहेछ । हामी जस्ता हुँदा खानेहरुका लागि रहेनछ ।
ओहो, ६ बजि सकेछ !
दिनभरी ट्याक्सी चालकहरुको ब्यवहारले दिक्क लागेको मन यति लेखिसकेपछि थोरै भएपनि हल्का भयो ।
फेरी त्यहि सार्वजनिक बस, ट्याक्सी चालकको हेपाहामा घर त पुग्नै पर्यो । ‘हौ सर, आज यहिँ बस्ने ? रात पर्यो त !’ सहकर्मी मित्रले भनेपछि ल्यापटप बन्द गरें । अनी उनकै बाइकमा लिफ्ट मागेर चावहिल सम्म आएँ ।
यस्तै छ समृद्ध नेपालको राजधानी।








