‘काठमाडौंमा होहल्ला गरेर हुँदैन, कालापानी, लिपुलेक नेपालकै हो’

मंसिर १, काठमाडौं । सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद सोमप्रसाद पाण्डेले स्पष्ट पारेका छन् । 

आज रिपोर्टर्स क्लबमा बोल्दै पाण्डेले उक्त कुरा बताएका हुन् । ‘वर्तमान सरकारले एक ईन्चपनि जमिन गुम्न दिँदैन । सरकार सीमा सुरक्षाको लागि पूर्ण प्रतिबद्ध छ । सीमा सुरक्षाको लागि कुनै सम्झौता गर्दैनौं । कुटनीतिक रुपमा समस्याको समाधान गर्छौं । सरकारले छिट्टै भारतसँग वार्ताको लागि पहल गर्दैछ ।’ उनले भने । 

नेता पाण्डेले सुगौली सन्धिमा नै भारतसँगको सीमाको बारेमा सबै कुरा टुँगो लगाईसकेको सुनाउँदै भने,‘सुगौली सन्धिमै स्पष्ट नक्शा छ । कालापानी र लिपुलेक अहिले चासो र संवेदनशील विषय हो, यो सबैको मनमनमा भिजेको छ । यो आजको विषय होईन । लिपुलेकबाट भारतीय सेना हटाउनुपर्छ । कालापानी नेपालकै भूभाग हो । काली नदी यताका टिंकर, कालापानी, लिपुलेक नेपालकै हो ।’   

उनले भारतीय सेनाले तत्काल उक्त नेपाली भुभाग छोड्नुपर्ने बताए । ‘भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्छ भनेर आज प्रधानमन्त्रीज्यूले पनि बोलिसक्नुभएको छ । कुटनीतिक माध्यमबाट छलफलको ढोका खोलिनुपर्छ । सरकारले सबै तयारी गरिसकेको छ ।’ उनले भने । 

फरक प्रसँगमा उनले विप्लवसँगपनि सरकारले वार्ताको लागि पहल गरिरहेको बताए । उनले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक तुल्याउने दिशामा लागिरहेको पनि सुनाए । यसको लागि प्रधानमन्त्री ओलीले सोहीअनुसार भूमिका खेलेको उनको भनाई छ । उनले भने,‘सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरेर छोड्छ । कोहीपनि उम्किन पाउँदैनन् ।’ पाण्डेले वर्तमान सरकार पूर्ण रुपमा सफल भएको दाबी गरे । 

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरे । ‘देशप्रति जनता ईमानदार छन् । तर, नेताहरु ईमानदार भएनन् ।’ सरकारमा बसेका नेताहरुभन्दा जनता ईमानदार रहेको उनको भनाई छ ।   

उनले नेपालको सुरक्षा निकायपनि देशको सीमाप्रति संवेदनशील नभएको गुनासो पोखे । ‘सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी कोहीपनि सीमानामा देखिएनन् । यो गम्भिर प्रश्न हो ।’ उनले भने । तराईका जनताले पनि धेरै दुःख पाएको उनको भनाई छ । ‘नेपालको सुरक्षा सरकारले वा नेपालका नेताले गरेका होईनन् । हाम्रो सीमाको सुरक्षा त नेपाली जनताले गरेका हुन् ।’ 

उनले सुस्ता, सप्तरी, सर्लाही, कञ्चनपुर, कोरला नाका सबैतिर समस्या रहेको सुनाए । भण्डारीले मुलुकमा धेरै सरकार गठन भएको र धेरै प्रधानमन्त्री भएपनि नेतामात्रै धनी भएको तर देश र जनताको अवस्था दयनीय रहेको टिप्पणी गरे ।   

नेपालको सरकार कमजोर हुँदा ठूला छिमेकीलाई फाईदा पुगेको उनको भनाई छ । उनले भारत र चीन दुवैसँग सीमाको विवाद कुटनीतिक रुपमा हल गरिनुपर्ने सुझाव दिए ।   

देशको सीमा समस्याको समाधानको लागि पछिल्लो समय मुलुकमा राष्ट्रिय सहमति बनेको सुनाउँदै यो खुशीको कुरा भएको उनले बताए । भण्डारीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाएको पनि टिप्पणी गरे । ‘सबै मिलेर खाएका छन् । यो देशका वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सिभिल हस्पिटल छन्, यी सबै अस्पतालहरुमा एक एक अर्ब ईक्युवमेन्ट ल्याईदिएको भए कोहीपनि विदेश उपचार गर्न जानुपर्दैन थियो । हामीले अब नेपालका अस्पतालहरुलाई सुविधा दिनुपर्छ । यहाँ पनि सक्षम चिकित्सकहरु छन् ।’ उनले भने । 

एनसेलमा पनि सबै मिलेर भ्रष्टाचार गरेको उनको आरोप छ । ठेक्कापट्टामा पनि मिलेर नै खाएको उनको भनाई छ । उनले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको सुनाए । तर, भारतको विदेश नीति हस्तक्षेपकारी र चीनको साईलेन्स भएको सुनाउँदै नेपालले भारत र चीन दुवै राष्ट्रसँग कुरा गर्नुपर्ने उनको भनाई छ । 

समाजवादी पार्टीका नेता डा. शिवजी यादवले भारत र चीन दुवै देशसँगको सीमा विवादलाई सरकारले कुटनीतिक पहलकदमीमार्फत हल गर्नुपर्ने आफूहरुको सुझाव रहेको बताए । ‘सीमा विवादबारे प्रधानमन्त्रीले बालुवाटारमा सर्वपक्षीय बैठक बोलाउनुभयो, यो राम्रो कुरा हो । बालुवाटारको बैठकले राष्ट्रिय एकता मजबुद भएको सन्देश गएको छ ।’ 

यादवले सरकारले भारतसँग सीमा मिचेको बारेमा गम्भिर छलफल गर्छु भनेको सुनाउँदै यसको बारेमा सडकमा विरोध गर्न नहुने सुझाव दिए । उनले भारत र चीन दुवैसँग नेपालले सीमा विवादबारे कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखे ।   

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा नेपाल भ्रमणमा आउँदा नेपालको तत्कालिन संविधानसभामा ‘भारतले नेपालीबिना एउटापनि युद्ध नजितेको’ भनेर गरेको भाषण आफ्नो मानसपाटलमा अहिलेपनि ताजै रहेको यादवले स्मरण गराए ।   

त्यस्तै, यादवले भ्रष्टाचारले अहिले देशमा जरा गाडेको पनि टिप्पणी गरे । ‘हाम्रो देश भ्रष्टाचारको रोगले ग्रस्त छ । मुलुक सुशासन भए भ्रष्टाचार निर्मूल हुँदै जान्छ । सरकारले भ्रष्टाचारको सवालमा कडा कदम चालेको छ ।’ 

उनले संविधान संशोधन गर्नको लागि पनि आफ्नो पार्टी सरकारमा रहने निश्कर्ष पार्टीको हालै बसेको केन्द्रिय कार्यसमिति बैठकले निर्णय गरेको सुनाए । उनले अरु दललाई पनि सरकारमा सहभागी हुन आग्रह गरिएको जनाए ।   

राजपा नेपालसँगको एकताकोलागि वार्ता जारी रहेकोले एकता हुनेमा आफू आशावादी रहेको यादवको भनाई छ । उनले भने,‘एकीकरणको सवाल भनेको गम्भिर विषय हो । राजपासँग एकता हुन्छ भन्नेमा म आशावादी छु ।’ 

राजपा नेपालका महामन्त्री केशब झाले चीनले नेपालको ११ ठाउँमा जमिन मिचेको आरोप लगाए । तर, चीनले यसबारेमा हतार गरेर विज्ञप्ती निकालेको भन्दै आपत्ति जनाए । ‘चीनले हतारमा विज्ञप्ती निकाल्नु ठीक होईन । चीनले कुटनीतिक मर्यादा देखाएन ।’ 

उनले भारत र चीन दुवै देशसँग कुटनीतिक रुपमा सीमा विवाद हल गरिनुपर्नेमा जोड दिए । झाले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सीमा विवादबारे सबैको एक स्वर रहेको सुनाउँदै कुटनीतिक रुपमा आफ्नो पहलकदमी चाल्नुपर्ने बताए ।   

उनले सीमा विवादको बारेमा काठमाडौंमा भएका दैनिक प्रदर्शनप्रति आपत्ति जनाए । ‘राष्ट्रवादी बन्नलाई काठमाडौंमा प्रदर्शन गर्नुको अर्थ छैन । यसले समस्याको समाधान हुँदैन ।’ कालापानी र लिपुलेकको विवादबारे सरकारले निकालेको विज्ञप्तीमा आफूहरुको पनि समर्थन रहेको उनले सुनाए ।   

झाले राजा महेन्द्रले पञ्चायत जोगाउनको लागि भारतसँग लिपुलेकबारे सम्झौता गरेको भन्ने कुरापनि आईरहेको भन्दै भने,‘राजा महेन्द्रले भारतसँग सम्झौता गरेको हो त ? के हो बास्तविकता ? सरकारले यसको तथ्य र प्रमाण बाहिर ल्याउनुपर्छ ।’ भारतीय पक्षले १९६२ देखि राजनीतिक नक्शामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो पक्षमा राख्दै आएको पनि सुनाए । नेपालको संविधान २०७२ मा पनि ती भूभाग नेपालले छोडेको सुनाउँदै त्यसको जवाफ सरकारले दिनुपर्ने उनको माग छ ।   

भारत सरकारले पनि यो विषयलाई ठूलो ईस्यु बनाउन नहुने भन्दै वार्ता तथा सम्वादमार्फत समस्याको हल खोजिनुपर्ने कुरा उठाएको सुनाउँदै सरकारले सोहीअनुसार आफ्नो कदम चाल्नुपर्ने उनको सुझाव छ ।   

उनले भने,‘यस्तो होहल्ला हामीले विगत लामो समयदेखि सुन्दै आएका छौं । तर, यो त राजनीतिक हत्कण्डामात्रै हो । समस्या अहिलेपनि ज्यूँको त्युँ छ ।’ उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध कसैले चाहेरपनि बिर्गान नसक्ने ठोकुवा गरे ।   

‘हामीबीच जनस्तरमा बलियो सम्बन्ध छ । हामी त बोर्डरको मान्छे हो । भुक्ने कुकुरले टोक्दैन भन्छन् नि, सीमामा हामीले भोगेका छौं समस्या । हामीले हाम्रो भूमीको रक्षा गरिरहेका छौं । काठमाडौंमा होहल्ला गरेर केही हुँदैन ।’ 

उनले वर्तमान सरकारलाई असफलको संज्ञा दिए । उनले भने,‘यो सरकार पूरै असफल भैसकेको छ । आज सुनकाण्ड भएको यतिका दिन भयो, खोई सुन कहाँ छ ? बालुवाटारको जग्गा फिर्ता ल्याउन सकेको छैन । आफ्नो पार्टीको शीर्ष नेता मुछिएकोले हो कि किन हो ?’ वाईडबडीमा पनि भ्रष्टाचार भएको भनेर संसदीय समितिले भनेकोमा अहिलेसम्म दोषीलाई कारबाही नहुनु भ्रष्टाचार कति भएको छ ? भन्ने कुराको ज्वलन्त उदाहरण भएको उनको भनाई छ ।   

फरक प्रसँगमा उनले समाजवादी पार्टीसँग आफ्नो पार्टीको एकताको लागि छलफल चलिरहेको सुनाउँदै एकता हुनेमा आफू विश्वस्त रहेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =