मेडिकल कलेजले ठगेको रकम विद्यार्थीलाई फिर्ता गराउँछौँः प्रधानमन्त्री

मंसिर १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले असुलेको शुल्कमा ध्यानाकर्षण भएको जनाउँदै बढी रकम विद्यार्थीलाई फिर्ता गराउने बताएका छन् ।
सत्तारुढ नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रम ओलीले मेडिकल कलेजहरुले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गराउने बताएका हुन् । ठगी गर्ने कलेजलाई कारवाही गर्ने उनको भनाइ छ ।
नेकपा सरकार आउनुअघि नै मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडौँ उठाउँथे । अहिले हामी त्यो फिर्ता गराउन खोजिरहेका छौँ । तर यही सरकारकै आडमा ठगी भयो भनिन्छ,’ प्रम ओलीले भने ।

मेडिकल कलेज सञ्चालकहरुले मनपरी शुल्क असुल गरेको विरोधमा विद्यार्थीहरुले काठमाडौं लगायत देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
सरकारले तोकेको भन्दा बढी रकम असुल गरेका मेडिकल कलेजले फिर्ता गर्न सरकारले दिएको निर्देशन नमानेको तथा सरकारले नियम नमान्ने कलेजलाई कारवाही गर्न नसकेका कारण आन्दोलनमा उत्रिनु परेको आन्दोलनरत विद्यार्थीहरुको भनाइ छ ।
प्रधानमन्त्रीले विद्यार्थीका आन्दोलनमा आफ्नो ध्यानाकर्षण भएको भन्दै मेडिकल कलेजहरु नियम कानुनभित्र बस्नुपर्ने तथा आफूलाई मनपरितन्त्र सैह्य नहुने बताए । उनले भने, ‘पहिलेका सरकारलाई झुक्याएजस्तो यो सरकारलाई चल्दैन । गोप्य ढंगले लिनु त्यो ठगी हो, त्यो फिर्ता हुनैपर्छ ।
यता विद्यार्थीहरुले आन्दोलन गरी कलेज नै बन्द गराएपछि चितवन मेडिकल कलेजले विद्यार्थीहरुसँग विभिन्न बुँदामा सहमति गर्दै शुल्क घटाउने प्रतिबद्धता समेत व्यक्त गरको थियो ।








