उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, धरानकाे ९९ मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी

मंसिर १३, धरान । भोलि मंसिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ ।   

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका हुने उपनिर्र्वाचनको व्यवस्थापकीय र सुरक्षा सम्बन्धी सबै काम पूरा भइसकेको जानकारी दिइएको हो ।   

यता स्थानीय तह धरान उपमहानगरपालिकामा मेयर र एक वडाध्यक्षका लागि धरानमा मतदान हुँदैछ । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका साथै वडा नम्बर ७ को वडा अध्यक्षको लागि पनि मतदान हुन लागेको हो ।   

धरानका २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा सुरक्षाकर्मी सहितका कर्मचारी पुगिसकेको सुनसरीका मूख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।   

प्रतिनिधिसभातर्फ ३२ मतदान स्थलको ८२ मतदान केन्द्र, प्रदेशसभातर्फ ७८ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र र स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थलमा २ सय ८१ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।   

धरानमा ९९ मतदान केन्द्र तोकिएको छ भने शनिबार बिहानै ७ बजेबाट ती सबै मतदान स्थलमा मत हाल्ने काम सुरु हुनेछ । 

धरानमा उपनिर्वाचनको क्रममा मतदाता संख्या बढेको छ भने कुल मतदाता संख्या ९१ हजार ८ सय ८३ पुगेको छ । 

स्थानीय तह अन्र्तत सुनसरीको धरानमा मेयर र वडाध्यक्ष २ वटा पदका लागी स्वतन्त्र गरी कुल २७ जनाले भाग लिएका छन् ।   

देशभरिका विभिन्न नगर र गाउँपालिकाकामा उपनिर्वाचनको प्रचार प्रसार अवधि भने मंसिर ११ गते राति १२ बजेदेखि सकिएको थियो । 

हाल धरान उपमहानगरपालिका प्रमुख र वडा नंं ७ को वडाध्यक्ष उपनिर्वाचनका लागि १२ सय ५५ सुरक्षाकर्मी परिचालन गरिएको छ । 

मतदान केन्द्र तथा स्थल सुरक्षाका लागि तीन तहमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । 

पहिलो सुरक्षा घेरामा ७ सय ९० जनपथ प्रहरी, दोश्रो घेरामा २ सय ६५ जना सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।   

आवश्यकता अनुसार सेना परिचालन गरिने नेपाली सेनाको पूर्वी पृतनाले जानकारी दिएको छ । बुधबारदेखि मतदान स्थान तथा केन्द्रहरुको सुरक्षाका लागि सुरक्षाकर्मी पुगिसकेका छन् ।   

केही दिनअघि चुनाव विथोल्ने र चन्दा उडाउने समुहलाई पक्राउ गरेपछि निर्वाचन विथोलिन नदिन धरानको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् । 

उता निर्वाचनका लागि बुधबारदेखि नै ४९५ जना कर्मचारीहरु परिचालन गरिएको मुख्य निर्वाचन कार्यालय धरानका सहायक अधिकृत निधिराम दाहालले जानकारी दिए ।   

९२ हजार ५५३ मतदाता रहेको धरान उपमहानगरपालिकामा यसपटक ९९ मतकेन्द्र र २८ वटा मतदान स्थल रहेको छ । निर्वाचनको सबै तयारी पुरा भएको कार्यालयले जनाएको छ । 

निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेको र मतपत्र, मतपेटिकालगायत आवश्यक सामग्री पठाइसकिएको जनाएको छ। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रको व्यवस्था गरिएको छ। 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनका लागि कूल पाँच हजार ५३२ कर्मचारी खटाइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =