प्रज्ञा प्रतिष्ठानमा भएको सरुवामा पूर्वाग्राही भएको भन्दै कर्मचारी संघद्वारा विरोध

कात्तिक २८, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानमा गलत तरिकाले कर्मचारी सरुवा गरेको भन्दै प्रतिष्ठानको कर्मचारी संघले विरोध गरेको छ । लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघले विभेदपूर्ण तथा पूर्वाग्राही तरिकाले कर्मचारी सरुवा भएका भन्दै संघले नेपाल प्रज्ञा प्रष्ठिानको ध्यानाकर्षण गराएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका योजना तथा कार्यक्रम महाशाखा प्रमुख सन्ध्या पहाडीलाइ निराधार आरोपहरु लगाइ पटक–पटक स्पष्टिकरण सोधेको र महाशाखा नै नरहेको ठाउँमा सरुवा गरेको तथा अन्य कर्मचारीहरुलाइ पनि राजनीतिक पूर्वाग्रह राखी मनलाग्दी तरिकाले सरुवा गरेको भन्दै संघले विज्ञप्ति नै निकालेर विरोध जनाएको हो ।
प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत् प्रसाद उपाध्यायले काँग्रेस निकटका कर्मचारीहरुलाइ अनावश्यक रुपमा पटक पटक निराधार आरोप लगाउँदै कारवाहीको चेतावनी दिँदै हिड्ने गरेको पनि संघको आरोप छ ।

संघका अध्यक्ष अशोककुमार चौरसियाद्वारा जारी विज्ञप्तीमा कर्मचारीको दरबन्दी नै नभएको विभागमा सरुवा गर्ने जस्ता घटिया व्यवहार प्रशासनबाट भएको भन्दै तत्काल उक्त सरुवा सच्याउन भनिएको छ ।
पूर्वाग्राही रूपमा गरिएको सरुवा र अन्य ब्यवहार तत्काल नसच्याए कडा संघर्षका कार्यक्रम ल्याउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।








