‘नेपालको एक ईन्चपनि भूमी हामी छोड्दैनौं’ यादव

कात्तिक २४, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले लिपुलेक, कालापानी नेपालकै भू–भाग भएकोले सरकारले फिर्ता गर्नको लागि पहलकदमी लिनुपर्ने बताएका छन् । आज रिपोर्टर्स क्लबमा बोल्दै उनले नेपालको एक इन्च भूमी पनि नछोड्ने उद्घोष गरे ।   

‘नेपालको ईतिहासमा हिजो बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको छ । अहिले मुलुकमा बलियो सरकार छ । हिजोको सहमतिले ठूलो शक्ति प्रदान गरेको छ । हामी एक इन्च भूमी पनि छोड्दैनौं ।’ उनले भने ।   

विगत ७० वर्ष लामो समयदेखि सीमा विवादको समस्या रहेको सुनाउँदै अब वार्ता तथा कुटनीतिक माध्यमबाट यसको दिर्घकालिन रुपमा हल गरिनुपर्ने यादवको सुझाव छ ।   

नेपालबाट विभिन्न समयमा भारत भ्रमण भएको सुनाउँदै ती भ्रमणमा पनि सीमा विवाद समाधान हुन नसकेको उनले टिप्पणी गरे । परराष्ट्रसचिवको नेतृत्वमा बनेको दुई कमिटीले पनि विवाद समाधान गर्न नसकेको बताउँदै अब सरकारले यसको लागि ठोस कदम चाल्नुपर्ने उनको भनाई थियो ।   

उनले प्राविधिक टोली, राजनीतिक र कुटनीतिक तीनै च्यानलमार्फत विवाद समाधानको लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिए । ‘नेपालको एक ईन्चपनि भूमी हामी छोड्दैनौं’–यादवले भने,‘देशको भूमी रक्षाको लागि हामी एक ठाउँमा उभिएका छौं । यो सरकारले गम्भिरताका साथ आफ्नो कदम चाल्नुपर्छ ।’ 

पूर्वमन्त्रीसमेत रहेका यादवले अहिले विवाद समाधानको लागि राम्रो वातावरण बनेको पनि जिकिर गरे । ‘यो सरकारलाई अवसर र चूनौति दुवै छ । यत्रो सहमति र समर्थन हुँदाहुँदैपनि सरकारले केही गर्न सकेन भनेर कुरा हुन्छ । राजपाले पनि समर्थन जनाएको छ ।’ 

यादवले सडक संघर्ष वा आन्दोलनबाट सीमा विवादको समस्या हल नहुने जिकिर गरे । उनले भने,‘आन्दोलन वा संघर्षले राम्रो वातावरण बनाउँदैन । नेपाल र भारतबीचको सम्बन्ध राम्रो बनाउनुपर्छ । आन्दोलनले प्रतिकुलता सिर्जना गर्छ । बरु, वार्ताबाट समाधान गर्नुपर्छ ।’ नेपालसँग नक्शा र ऐतिहासिक तथ्य तथा प्रमाणहरु रहेकोले सम्पूर्ण भूभाग फिर्ता गर्नुपर्ने उनको भनाई छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *