‘दोस्रो आन्तरिक पर्यटन मेला–२०२०’ आयोजना हुँदै

मंसिर ५, काठमाडौं । ‘पहिले देश अनि विदेश’ भन्ने नारासहित काठमाडौंमा ‘दोस्रो आन्तरिक पर्यटन मेला–२०२०’ आयोजना हुने भएको छ ।   

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल बनाउने तथा गाउँगाउँमा पर्यटनबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले काठमाडौंको भृकुटीमण्डमा ‘दोस्रो आन्तरिक पर्यटन मेला–२०२०’ आयोजना गर्न लागेको हो ।   

आगामी फागुन ९ र १० (फेब्रुअरी १२ र २२) गते भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा आयोजना हुने मेलामा ७७ वटै जिल्लाको पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी गरिने छ । साथै ती जिल्लाका संस्कृति प्रचार गर्न विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने तथा १ सय ५० बढी स्टलहरु रहने आयोजकले जनाएको छ ।   

मेलामा पर्यटन बजारमा सक्रिय सबै पर्यटन संस्थाहरु टान, हान, नाट्टा, सोट्टो, एनएमए, टुर्गान, नाटोज, नारा, नेफा, नेपाल होमस्ट एसोसिएसन, एफएनसिसीआई, टिडीसी, एनएमआईए, एनएमजिए, पाटा च्याप्टर, रेवान, ट्रेगान, भिटोत्तफ, चेम्बर, कुरियर सघ, हस्तकला, गार्मेन्ट संघ, एनटिभिए, कन्सल्टेन्सी, केबुलकार, एड्भेन्चर ट्रिप, पर्यटकीय संघ सस्था, स्कुल कलेज प्रतिष्ठान लगायत १ सय ११ वटा स्टलहरु रहनेछन् ।   

स्टलमा पर्यटकीय होटलका स्टल, ट्राभल, ट्रेकिङ, एयरलाईन्स, प्याकेज टुर, पर्वतारोहणका लागि आवश्यक ट्रेकिङ सामग्री, हस्तकला सामग्री तथा विभिन्न जिल्लाबाट उत्पादित सामग्रीहरु उपलब्ध हुनेछन् ।   

मेलाको बाहिरी भागमा देशैभरीका खानाहरुको परिकार झल्किने गरी फुड स्टल   

रहने छ । जसमा सहभागीहरुले आफूले चाहेको वस्तु तथा सेवा खरिद गर्न सक्ने छन् । मेलामा लाखौँ दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।   

जिल्लाको पर्यटकीय सम्भावनाहरुको खोजी गर्न तथा मेलालाई सफल बनाउन विभिन्न किसिमका समिति गठन गरिएको गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।   

जसअन्तर्गत डिटीएम मिडिया संयोजकमा रिपोर्टर्स क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमला, सहसंयोजकमा राससका विकास लोहनी, उपसंयोजकमा द राईजिङ नेपालका नारायण उपाध्याय र वरिष्ठ संवाददातामा राजधानी दैनिकका मधुजंग पाण्डे रहेका छन् ।   

त्यसैगरी मेलालाई थप गति दिनका लागि ३ सदस्यीय सल्लाहकार समिति समेत बनाइएको छ । जसअन्तर्गत पर्यटन व्यवसायीहरु आङछिरिङ्ग शेर्पा, सुमन पाण्डे, र चन्द्र रिजाल रहेका छन् ।   

त्यस्तै गुडविल एम्बास्डरमा पर्यटन व्यवसायीहरु मोहन लम्साल, राजेन्द्र प्रसाद सापकोटा, कमल सापकोटा, कुल बहादुर गुरुङ, गोपाल बाबु श्रेष्ठ, बी एन ढकाल र मनोज कुमार श्रेष्ठ रहेका छन् । डिटीएम ब्राण्ड एम्बास्डरमाको रुपमा पर्यटन व्यवसायी गिता गुरुङ्ग, दावाछिरी शेर्पा र कल्पना महर्जनलाई मनोनित गरिएको छ ।   

मेलालाई देशव्यापी बनाउन प्रदेश संयोजक समेत बनाइएको अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार प्रदेश १ बाट गोविन्द ढुंगेल, प्रदेश २ बाट राम वलिदास, प्रदेश ३ बाट बलराम न्यौपाने, प्रदेश ४ बाट सूर्य रेग्मी, प्रदेश नं ५ बाट सुरेन्द्र भट्टराई, प्रदेश ६ बाट अविर मल्ल र ७ नम्बर प्रदेशबाट शेर बहादुर वम रहेका छन् ।   

कानुनी सल्लाहकारमा रामशरण थपलिया र डीटिएम जनसम्पर्क समितिको संयोजकमा रविन प्रसाद थपलिया मनोनयन भएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =