प्रकाश राईलाई जिताउन नेकपाका केन्द्रिय विद्यार्थी नेता धरानमा

कार्तिक २९, धरान । आगामी मंसिर १४ को निर्वाचनका उम्मेदवार प्रकाश राईलाई विजय गराउन नेकपाका केन्द्रिय स्तरका नेतासहित अनेरास्ववियू संयोजक ऐन महर र सह संयोजक रञ्जित तामाङ धरान आएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन पश्चात रिक्त पदका लागि उम्मेद्वारी दिएका राईलाई दुई तिहाई बहुमतले विजयी गराउन तथा अनेरास्ववियू प्रदेश नम्बर एकको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपाका केन्द्रिय सदस्य विनोद ढकालसहित विद्यार्थीको संयोजक सहितका टिम धरान आएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा पार्टी विद्यार्थी ईञ्चार्ज विनोद ढकालले धरानमा विगत लामो समयदेखि कम्युनिष्ट पार्टीले विजय गरेको स्मरण गराउँदै अहिले पनि नेकपालाई नै जिताउनुपर्ने बताए । उनले भने, ‘निर्वाचनमा साविक एमालेका उम्मेदवार तारा सुब्बाले चार हजार मतले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलक राईलाई पराजित गरेका थिए । हाल माओवादी केन्द्र र एमाले पार्टी एकिकरण भएको छ । अब नेकपाले विजय मात्रै होइन, ठुलो मतान्तरले जित्नुपर्छ ।’

कार्यक्रमका विशेष अतिथि अनेरास्ववियूका केन्द्रिय संयोजक ऐन महरको पनि भनाइ उस्तै छ । उनले अहिले स्थानिय तहदेखि केन्द्रिय तहसम्म नेकपा नेतृत्वको सरकार रहेको उल्लेख गर्दै कम्युनिष्ट सरकारले देश विकास र जनताका लागि धेरै महत्वपूर्ण योगदान तथा कार्यहरु गरेका कुरा जनतासमक्ष पुर्याउन निर्देशन दिए ।
त्यस्तै कार्यक्रमका अर्का विशेष अतिथि अनेरास्ववियूका केन्द्रिय सहसंयोजक रञ्जित तामाङले अहिले नेपाली कांग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निभाउन नसकेको आरोप लगाए । कांग्रेसले विजयका लागि भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।








