सागः फुटबलसहित चार खेलको टिकटदर तोकियो, कति पर्छ मूल्य ?

मंसिर ९, काठमाडौं । दक्षिण एसियाली खेलकुदको महाकुम्भका रुपमा लिइने १३ औं साग सुरु हुन ५ दिनमात्रै बाँकी छ । खेल नजिकिँदै गर्दा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले तयारी तीव्र पारको छ ।
सरकारको ठुलो अपेक्षा रहेको यस खेलका लागि रंगशाला मर्मतदेखि लिएर खेलाडीको प्रशिक्षणसम्मका कार्यहरु भइरहेका छन् । योसँगै राखेपले साग खेल अन्तर्गत फुटबलसहित ४ खेलको टिकट मूल्य निर्धारण गरेको छ ।
राखेपले फुटबलसहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट निर्धारण गरेको हो ।

सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ भने भलिबल र बास्केटबलको टिकट मूल्य ५ सय राखिएको छ ।
क्रिकेटको टिकट मूल्य २ सय देखि ५ सयसम्म पर्नेछ ।
समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मूल्य राख्ने तयारी गरिएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । अन्य खेलको पनि टिकट मूल्य छिट्टै सार्वजनिक हुने बताइएको छ ।
राखेपले यसअघि नै प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी नक्षत्र न्युजलाई बेचिसकेको छ । प्रतियोगिताका अधिकांश खेल नेपाल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाइनेछ ।








