भारतकाे नयाँ नक्सा सच्याउन तामाङ मुक्ति मोर्चाको माग

कात्तिक २६, काठमाडौं । एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले भारतले गत हप्ता सार्वजनिक गरेको नयाँ नक्सा अविलम्ब सच्याउन माग गरेको छ ।   

एक वक्तव्य जारी गर्दै मोर्चाले नक्सामा नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको भारतको सिमासँग जोडिएको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि लिपुलेकसम्मको (३७२ किलोमिटर) कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समावेश गरेकोमा आपत्ति प्रकट गर्दै नक्सा सच्याउन माग गरेको हो । 

मोर्चाले भारतले आफ्नो नक्सामा नै उक्त क्षेत्रलाई समावेश गर्नु सिधै अन्तर्राष्टिय कानून र मान्यता विपरित भएको जनाएको छ । पूर्वराज्यमन्त्री समेत रहेका मोर्चाका संयोजक सुर्यमान दोङ लालध्वजद्धारा हस्ताक्षरित् विज्ञप्तिमा भनिएको छ, ‘भूगोलको हिसावले नेपाल सानो होला तर, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको हिसाबले नेपाल–भारत समान छिमेकी देश हो । यो कुरा भारतले बिर्सनु हुँदैन । भारत सरकारलाई अविलम्ब नक्सा सच्याउन आग्रह गर्दछौं ।’ 

मोर्चाले भारतले बेला–बेलामा सीमामा गरिरहेको मिचाहा र हेपाहा प्रबृत्तिबाट नेपाली जनतामा गहिरो चोट पुगेको समेत उल्लेख गरेको छ । साथै मोर्चाले नेपाल सरकारले उक्त सीमासम्बन्धी आफ्नो धारणा प्रष्ट पारेपनि सीमासम्बन्धी विवाद हल गर्न अविलम्ब कुटनैतिक प्रयास अघि बढाउन जरुरी भएको समेत जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *