माइतीघर मण्डलामा डा. केसी र कालापानीः वारी समर्थन, पारी विरोध (फाेटाे फिचर)

कात्तिक २३, काठमाडौं । काठमाडौंस्थित माइतीघर मण्डलामा आज (शनिबार) नेपालको कालापानीमाथि भारतले चालेको कदम विरुद्ध र अनशनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन भएको छ । आज दिउँसो चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुराको अजयमेरुमा अनशन बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् भने सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा कालापानीको विषयमा प्रदर्शन भएको हो ।   

सोलिडारिटी फर डा. केसी अलायन्सको आह्वानमा भएको प्रदर्शनमा ‘कर जनताको, भोट जनताको, काम माफियाको ?, अर्ब ठग्ने अन्सारी, संरक्षण सरकारी, जनताको नौलो माफियाको’, लगायत नारा लगाइएको थियो । प्रदर्शनमा मेडिकल शिक्षाका विद्यार्थी, नागरिक समाजका अगुवा, विवेकशील दल, डा. केसीका समर्थकहरुको उपस्थिति रहेको थियो ।   

सोमबारबाट डडेल्धुरामा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ । १७ औँ अनशन बसेका उनलाई हिजो शुक्रबारै डडेल्धुरा अस्पताल भर्ना गरिएको छ । तर, पनि उनले अनशन जारी नै राखेका छन् ।   

माइतीघरमै अर्कोतर्फ ज्ञानेन्द्र शाहीको नेतृत्वमा भारतले कालापानी, लिपुलेक समेटेर निकालेको नक्साको विरोधमा प्रदर्शन भएको थियो ।  विरोध कार्यक्रममा ज्ञानेन्द्र शाहीले ‘ओली सरकार नसुत, मोदी जीका अगाडी घुँडा अब नटेक’ भन्दै सबै नेपालीलाई नेपालको सीमाना मिच्न नदिन एकजुट हुन आग्रह गरेका थिए ।   

कुनैपनि पार्टी या संगठनमा आबद्ध भएपनि अहिले एक्लाएक्लै प्रदर्शन नगरी नेपालीको हैसियतले सबै एकजुट भएर नेपालको सीमाना फिर्ता लिन भारतविरुद्ध लाग्नुपर्ने उनको भनाइ थियो ।   

‘युवा पुस्तामा यो मुलुकको लागि कुनै चिन्तै छैन । खाली देशको विकास भएन, यहाँ बसेर फाइदा छैन भन्दै विदेशै मात्र जान्छन् । हामीले के शिक्षा दियौँ ? विदेश जानुपर्छ भन्ने मात्रै सिकायौँ । अहिले आवश्यकता परेका बेला को उठ्ने ? अब कुनै पार्टीको कार्यकर्ता भएर नबसौँ । भएका नेपाली एकजुट भएर भारतविरुद्ध लडौँ । आफ्नो सीमाना फिर्ता लिऊँ’, उनले भने ।   

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्त भारतसँग संवाद गरी सीमा विवाद सुल्झाउन पनि आग्रह गरे । तत्काल कुनै कुटनीतिक पहल नगरी देखावटी रुपमा प्रम ओलीले आफ्ना भातृसंगठन उठाएर विरोध गर्न लगाएको उनको आरोप छ ।   

नेपालको विवादास्पद कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा समेटेपछि अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा दिनहुँ प्रदर्शन भइरहेको छ । सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेविसंघ लगायतले भारतले सार्वजनिक गरेको नक्साको विरोध गरिरहेका छन् ।   

यता सीमा विवाद सुल्झाउन प्रम ओलीले सर्वदलीय बैठक डाकेर लिम्पियाधुरासम्मै नेपाली भूमी रहेको निष्कर्ष निकालेका छन्  । बैठकमा लिम्पियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकाल्दै कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्ने भनिएको छ । 

डा. केसीको समर्थनमा गरिएको प्रदर्शनमा भन्दा पनि भारतले कालापानी आफ्नो नक्सामा समेटेको विरूद्द गरिएको प्रदर्शनमा बढी जनसहभागिता रहेको थियो । 

हेर्नुहाेस थप तस्विरः तस्विरः सृष्टि नेपाल, मकालु खबर 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *