कालिकाका किसानलाई प्लाष्टिक मन्चिङ वितरण

कार्तिक २२, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका व्यावसायिक तरकारी किसानहरुलाई प्लाष्टिक मन्चिङ वितरण गरेको छ । तरकारीको उत्पादन बढाउन सो नगरपालिकाले अनुदानमा आधारित प्लाष्टिक मन्चिङ वितरण गरेको हो ।   

दुई कठ्ठा देखि एक विगहा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका ४७ जना किसानलाई सय रोल प्लाष्टिक मन्चिङ वितरण गरिएको कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए ।   

तरकारीको पकेट क्षेत्र, व्यावसायिक तरकारी खेती र जग्गाको क्षेत्रफलको आधारमा सो सामाग्री वितरण गरिएको हो । नगरपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लगानीमा प्लाष्टिक मन्चिङ वितरण गरिएको पौडेलले बताए ।   

वडा नम्बर १ को कार्यालयमा आयोजित कार्यक्रममा मेयर खुमनारायण श्रेष्ठले किसानहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै उनले कृषिको माध्यमबाट कालिकाका किसानहरुको जीवन स्तर उकासिने बताए ।   

नगरलाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने योजना रहेको भन्दै उनले व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानहरुलाई नगरपालिकाले सहयोग गर्ने बताए ।   

विचौलियाका कारण किसानहरुले उत्पादित वस्तुको मूल्य नपाएको भन्दै मेयर श्रेष्ठले विचौलियाको अन्त्य गर्न नगरपालिकाले सहकारी मार्फत् नगरका दुई ठाउँमा तरकारी संकलन केन्द्र सञ्चालन गरेको बताए ।   

कार्यक्रममा वडाध्यक्षहरु लीलाबहादुर गुरुङ ,टिकाराज रिजाल, डिल्लीराम दुवाडी लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *