कालंगा हाइड्रोको सुरुङभित्र ४ कामदार थुनिए, उद्धार प्रयास जारी
कार्तिक १८, बझाङ । बझाङको बुंगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोपावरको काम गर्ने क्रममा सुरुङ भत्किँदा ४ जना मजदुर त्यहाँभित्र फसेका छन् ।
आइतबार दिउँसो करिब ३ बजे सुरुङभित्र छिरेका उनीहरु सुरुङ भत्किँदा त्यहाँभित्रै थनिएका हुन् ।
सुरुमा सुरुङभित्र ६ जना छिरेका थिए । पछि श्वास फेर्न गाह्रो भएको भन्दै २ मजदुर बाहिर निस्किएका थिए । ४ जना भने अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी गणेशबहादुर बमले जानकारी दिए ।
सम्पर्कविहीन हुनेहरुमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन् । काम गर्ने क्रममा सुरुङ भत्किएर चारै जना भित्र थुनिएको र उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।
अहिले उनीहरुको उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घटनास्थल पुगेका छन् । उक्त सुरुङ १४ सय मिटर लामो छ । अक्सिजन अभावका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।