वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई बर्खास्त गर्न माग

कार्तिक १८, काठमाडौं । पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नचाहिँदो सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई ठगेको आरोप लगाएका छन् ।   

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमानेपाल एयरलाईन्सजस्तो पूरानो संस्थाले स्वदेश तथा विदेशी पर्यटकहरुलाई गलत सूचना प्रवाह गरेर ठग्ने काम गरेको आरोप लगाएका हुन् ।   

‘नेपाल एयरलाईन्सले हामी सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रुलाई ढाँट्ने काम गरेको छ । एयरपोर्टमा आगमन तथा प्रस्थान दुवै तर्फ ड्युटी–फ्री सामान पाउँछ भनेर गलत सुचना राखिएको छ । तर, यो सुचना सरासर गलत हो । विमानस्थलमा आगमनतर्फ ड्युटी–फ्री छैन’, कँडेलले भने ।   

गलत सूचना प्रवाह गरिरहने निगमका कार्यकारी अध्यक्ष खरेललाई पर्यटनमन्त्री योगेश कुमार भट्टराईले अविलम्ब निलम्बन गर्नुपर्ने उनको माग छ ।   

कँडेलले नेपाल सरकारले भव्य तयारी गरेर नेपाल पर्यटन वर्ष– २०२० मनाउन गइरहेको अवस्थामा विमानस्थलमा यस्तो गलत सुचना प्रवाह गर्दा भ्रमण वर्ष कुनैपनि हालतमा सफल नहुने र यसले देशको प्रतिष्ठामाथि नै आँच आउने खतरा औंल्याए । उनले भने, ‘हामी भ्रमण वर्ष सफल बनाउन लागिरहेका छौं । तर, सरकारले भ्रमण वर्ष सफल बनाउनेतर्फ खासै ध्यान दिएको जस्तो मलाई लागेन । यदि दिएको भए विमानस्थलमा यस्तो गलत सुचना राखेर स्वदेश तथा विदेशी यात्रुलाई ढाँट्ने काम गरिँदैन थियो ।’ 

उनले आगामी ४८ घण्टाभित्र उक्त सूचना नसच्याए आफू सरकारविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पुग्नेपनि चेतावनी दिए । उनले भने, ‘नागरिकको हैसियतले म चाहन्छु कि यो गलत सुचना अविलम्ब हटाईयोस् । र, सरोकारवाला व्यक्तिहरु तथा मुख्यतय निगमका कार्यकारी अध्यक्ष खरेललाई हटाउनुपर्छ । त्यसपछि विमानस्थलमा पनि भ्रमण वर्ष अगाडि नै आगमनतर्फ ड्युटी–फ्री खोल्नुपर्छ ।’ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *