‘अतिरिक्त शुल्क फिर्ता गर’ भन्दै विप्लवका छाेरासहित मेडिकल कलेजका विद्यार्थीहरु सडकमा (फाेटाेफिचर)

कार्तिक १९, काठमाडौं । मेडिकल कलेज सञ्चालकहरुले मनपरी शुल्क असुल गरेको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।   

नेत्रविक्रम चन्द ‘विप्लव’ पुत्र प्रकाश चन्दको नेतृत्वमा चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।   

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विद्यार्थीमाथिको दमन बन्द गर, अतिरिक्त शुल्क फिर्ता गर, विद्यार्थीलाई मानसिक तनाव दिन पाइँदैन, मेडिकल माफिया मुर्दाबाद, स्वास्थ्यकर्मीको श्रमशोषण गर्न पाइँदैन, प्रगतीशिल विद्यार्थीहरु एक हौँ, विद्यार्थी लुट्न पाइँदैन, विद्यार्थीलाई न्याय दे, राज्यको निर्णय लागु गर लगायतका नारा लगाएका थिए ।   

 

आज भएको प्रदर्शनमा चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिर्भसल मेडिकल कलेज लगायतका विद्यार्थीहरुले माइतीघर मण्डला वरिपरि घेरेका थिए ।   

प्रदर्शनका कारण यातायात आवतजावतमा समस्या भएको थियो ।   

सरकारले तोकेको भन्दा बढी रकम असुल गरेका मेडिकल कलेजले फिर्ता गर्न सरकारले दिएको निर्देशन नमानेको तथा सरकारले नियम नमान्ने कलेजलाई कारवाही गर्न नसकेका कारण आन्दोलनमा उत्रिनु परेको आन्दोलनरत विद्यार्थीहरुको भनाइ थियाे ।   

आन्दोलनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत प्राडा डा. गोविन्द केसीको अनशनमा आफूहरूकाे एक्यबद्धता रहेको पनि बताएका छन् ।   

‘डा. केसीको अनशन र मागमा हामी विद्यार्थीहरुको पनि एक्यबद्धता छ । उहाँको यो अनशन नै अन्तिम बनोस्, उहाँको माग सबै पुरा गर्न हामी सरकारसँग आह्वान गर्न चाहन्छौँ’, चिकित्सा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले भने ।   

स्वास्थ्य शिक्षामा सर्वहारा वर्गसम्मको पहुँच हुनुपर्छ भनेर अघि बढेका एउटा स्वच्छ नागरिक डा केसीका मागहरु सरकारले तत्कालै कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ ।   

यसअघि पनि पटक पटक विरोध गर्दै आएका उनीहरुले आफ्ना माग सम्बोधन नभएसम्म विरोध जारी राख्ने बताएका छन् ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *