अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का

मंसिर १०, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवतः यो पहिलो घटना हो । 

विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरी बस्न्यात, उनका नातेदार तथा व्यावसायिक साझेदारहरूमाथि छानबिन गरिरहेको छ । ‘सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्राचार भइसकेको छ,’ प्रधानमन्त्री कार्यालयमा बस्न्यातबारे भएको ब्रिफिङमा सहभागी एक अधिकारीले बताए । उनका अनुसार प्रमुख आयुक्त हुँदा बस्न्यातले विभिन्न शीर्षकमा भ्रष्टाचार गरी छोरा कमल र व्यावसायिक साझेदार भीम रोकामार्फत रकम व्यवस्थापन गरेको अनुसन्धानले पुष्टि गरिसकेको छ । रोकाको लगानी रहेको म्यानपावर कम्पनी र एक सहकारीमार्फत बस्न्यातले आफ्नो अकुत आर्जन व्यवस्थापन गरेको जानकार स्रोतको दाबी छ । ‘अहिलेसम्मको अनुसन्धानका आधारमा बस्न्यात, उनका छोरा र व्यवसायी रोकामाथि सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर हुने निश्चित छ,’ स्रोतले भन्यो, ‘अन्य तीन जना नातेदारमाथि पनि मुद्दा जाने सम्भावना देखेका छौं, निश्चित भइसकेको छैन ।’ 

सरकारी सेवामा रहँदा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको मामिलामा मात्रै केन्द्रित रहेर यसअघि उनी आफैं प्रमुख रहेको अख्तियारले समेत छुट्टै छानबिन गरिरहेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छँदा बस्न्यातले फर्जी मोहीका नाममा बालुवाटार, ललिता निवासको विवादित जग्गा हस्तान्तरण गर्न भूमिका खेलेको आरोपमा अख्तियारले उनीमाथि मुद्दा दायर गर्ने निश्चित भइसकेको छ । 

Image may contain: 1 person

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेसँगै अख्तियारले अकुत आर्जनको विषयमा मुद्दा’ अघि बढाउने सम्बन्धित स्रोतले बतायो । विभागले प्रधानमन्त्री कार्यालयलाई गरेको ब्रिफिङअनुसार बस्न्यातका दाजुभाइको सम्पत्तिमाथिको अनुसन्धान पूरा भइसकेको छ । उनीहरूको सम्पत्ति विवरणका आधारमा बस्न्यातसँग अहिले भएको सम्पत्ति अस्वाभाविक देखिन्छ । ‘पुर्ख्यौली सम्पत्तिको विषयमा पनि अनुसन्धान सकिइसकेको छ,’ स्रोतले भन्यो, ‘उनले सरकारी सेवामा रहँदा तोकिएअनुसारको सुविधाबाट आर्जन गरेकोभन्दा अस्वाभाविक सम्पत्ति फेला परिसकेपछि रोक्का राखिएको हो ।’ 

बस्न्यातले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये केही भारततर्फ स्थानान्तरण गरिसकेको हुन सक्ने अनुमान छ । विभागले अनुसन्धान अगाडि बढाएसँगै बस्न्यातको भारत आउजाउ बढेकाले अब थप रकम नसारियोस् भनेर सम्पत्ति रोक्का गर्नुपरेको स्रोतको दाबी छ । ‘भारत सरकारसँग हामीले सूचना माग गर्नेछौं,’ स्रोतले भन्यो, ‘त्यसअघि उनीमाथि मुद्दा दायर गरेर मात्रै यो प्रक्रियामा जानुपर्ने हुन्छ ।’ सम्पत्ति शुद्धीकरण विभागले तीव्र गतिमा अनुसन्धान गरी मुद्दा दायर गर्ने कामलाई प्राथमिकतामा राखेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ । 

बस्न्यातले वैदेशिक रोजगार व्यवसायी भीम रोकामार्फत विभिन्न क्षेत्रमा लगानी गरेको अनुसन्धानले देखाएको छ । लाजिम्पाटको होटल ग्याञ्जोङ (हाल होटल हिमालयन) खरिदमा वैदेशिक रोजगार व्यवसायी रोका देखिए पनि पर्दापछाडि बस्न्यात रहेको विभिन्न कागजातबाट खुलेको स्रोतको दाबी छ । ‘पेट्रोल पम्प, पार्टी प्यालेस, होटलमा लगानी, सहकारी र बैंकमा बचत तथा उनी र आफन्तको साथमा केही नगद मौज्दात रहेको अनुमान छ,’ स्रोतले भन्यो । रोकामार्फत बालाजु औद्योगिक क्षेत्रमा खोलेको एक पेट्रोल पम्प हालै बिक्री गरिएको छ । नक्सालको एउटा बैंक्वेटमा पनि लगानी रहेको आशंकामा अनुसन्धान भइरहेको छ । 

बस्न्यातका परिवारका सदस्यको नाममा रहेको उक्त बैंक्वेटले अस्वाभाविक रूपमा ठूलो आम्दानी गरेको देखाइएको छ । ‘बूढानीलकण्ठमा २ रोपनी जग्गा खरिद गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘बत्तीसपुतलीको घरमा भूकम्पपछि चार आना जग्गा पनि जोडेका छन् । यो सबै उनी अख्तियारमा आयुक्त भइसकेपछि आर्जित रकमबाट जोडिएको हो भन्ने निष्कर्ष छ ।’ 

यसरी बने अख्तियार प्रमुख   

अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीमाथि अयोग्यताको प्रश्न उठेपछि बस्न्यातसहित तत्कालीन चार आयुक्तहरूको पनि योग्यता नपुगेको दाबीसहित सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चबाट कार्की ‘अयोग्य’ ठहर भइसकेपछि संवैधानिक परिषद्ले आयुक्त दीप बस्न्यातलाई प्रमुख आयुक्त बनाउन खोज्यो । संवैधानिक परिषद्को सदस्यसमेत रहेकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा विचाराधीन योग्यताको प्रश्न ‘निरूपण’ नहुँदासम्म बस्न्यातलाई सिफारिस गर्न नसकिने अडान राखिन । तर कार्कीमाथि एकाएक महाभियोगको प्रस्ताव दर्ता भयो । 

कार्कीलाई प्रधानन्यायाधीश पदबाट निलम्बन गरिएपछि गोपाल पराजुली कामु प्रधानन्यायाधीश भए । पराजुली सहभागी संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रूपमा बस्न्यातलाई अख्तियारको प्रमुख आयुक्तमा सिफारिस र्गयो । ०७४ जेठमा अख्तियार प्रमुख भएका बस्न्यातले त्यसै वर्षको माघ २९ मा अवकाश पाए । त्यही अवधिमा उनले अकुत सम्पत्ति आर्जन गरेको हालको अनुसन्धानबाट देखिएको छ । 

अधिकृतस्तरबाट निजामती सेवामा प्रवेश गरेका बस्न्यातले सचिव पदबाट अवकाश पाएका थिए । त्यसबखत पनि उनीमाथि नक्कली प्रमाणपत्र, गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा छानबिन भएको थियो, जसलाई पछि ‘तामेली’ मा राखेर टुंग्याइयो । 

अख्तियारमा के गरे ? 

‘कार्यवाहक प्रमुख आयुक्त भएको केही दिनदेखि नै उहाँको सक्रियता सुरु भइसकेको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘धेरैजना सरकारी अधिकारीहरूको सम्पत्तिमाथिको अनुसन्धानलाई उनले अस्वाभाविक रूपमा तामेलीमा राखिदिए ।’ 

अख्तियारबाट प्राप्त विवरणअनुसार सांसदहरू उमेश श्रेष्ठ, जनार्दन ढकाल र बाबुराम पोखरेलको अनुसन्धानलाई उनले तामेलीमा राखेका थिए । रौतहट बमकाण्डमा संलग्न रहेको मुद्दा खेपिरहेका पूर्वमन्त्री मोहम्मद आफताब आलममाथि अख्तियारले गरिरहेको छानबिनलाई ‘शंकास्पद’ रूपमा तामेलीमा राख्ने काम पनि उनैले गरेका हुन् । प्राप्त विवरणअनुसार ०७४ भदौ १ गते आलमको अनुसन्धान तामेलीमा राख्ने निर्णय भएको देखिन्छ । त्यतिबेला अख्तियारको सम्पत्ति छानबिन महाशाखा प्रमुख आयुक्त बस्न्यातकै मातहत थियो । बस्न्यातले नेतृत्व गरेको अवधिमा अघिल्लो वर्ष (०७३/७४) मा ३४ र पछिल्लो वर्ष (०७४/७५) ४१ जना गरी कुल ७५ जनाको सम्पत्ति अनुसन्धान तामेलीमा पुग्यो । लोकमानसिंह कार्कीको पालामा इमानदार कर्मचारीमाथि समेत छानबिन गरेर दुःख दिइएकाले त्यस्ता फाइल तामेलीमा लैजानुपर्ने नाममा अन्य गम्भीर अनुसन्धानलाई समेत अलपत्र पारिएको अख्तियार स्रोतले बताएको छ । तत्कालीन सचिवहरू शान्तबहादुर श्रेष्ठ, गजेन्द्र ठाकुर, शम्भु कोइराला, सांसद इच्छाराज तामाङ, पूर्वमन्त्री छविराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनलगायतको मुद्दासमेत उनैले तामेलीमा राखेका हुन् । आफूसहित अनियमिततामा संलग्न ललिता निवास प्रकरणमा जोडिएका पूर्वमन्त्री पन्तमाथिको छानबिन पनि उनले अघि बढाएनन् । 

त्यतिबेला बस्न्यातका साथै अर्का आयुक्त राजनारायण पाठकले सम्पत्ति अनुसन्धान महाशाखा हेर्थे । पाठकले पनि घूस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन । ‘पाठक र बस्न्यातबीच पनि केही सहकार्य भएको देखिन्छ,’ स्रोतले भन्यो । पाठकमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । 

अख्तियारमा लामो समय काम गरी हालै अवकाश लिएका एक सहसचिवका अनुसार बढी भ्रष्टाचार हुने भनेर कहलिएका राजस्व, भन्सार र सडक कार्यालयका कर्मचारीहरूलाई अख्तियारले छानबिन गर्ने १३ पाने सम्पत्ति विवरण भराउँथ्यो । ‘त्यसको केही दिनमै बस्न्यातको घरमा कर्मचारी बोलाइन्थे,’ ती सहसचिवले सुनाए, ‘जसको अनुसन्धान गर्नुपर्ने भनी मिहिनेत गरेका हुन्थ्यौं, त्यसको केही दिनमै यसको केही भेटिएलाजस्तो छैन भनेर आश्चर्यजनक रूपमा तामेलीमा राख्ने रायसुझाव उहाँबाट आउँथ्यो ।’ उनका अनुसार सडक विभागका कर्मचारीका अलावा आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काको मुद्दा यसैगरी टुंग्याउन दबाब थियो । बस्न्यातले अवकाश पाएपछिखड्कामाथि मुद्दा चल्यो । 

राजधानी वरपरका जग्गा विवाद, म्यानपावरहरूको प्रभावका वैदेशिक रोजगार र श्रम विभागका धेरै फाइल बस्न्यातका पालामा अनुसन्धान हुन नसकेको स्रोतको दाबी छ । ‘०७३ पुस १८ गते ठेक्का अनियमितताको आरोपमा छानबिन भइरहेको सोलु करिडोरको अनुसन्धान ‘तामेली’ मा पुग्यो । त्यतिबेला चर्को रूपमा उठेका मेडिकल कलेजको सिट निर्धारणको अनियमिततामाथि पनि उनले कारबाही प्रक्रिया अघि बढाएनन् । 

‘मिल्दै नमिल्ने फाइलसमेत धमाधम तामेलीमा र्पुयाउने गरिएको थियो,’ अख्तियारका तत्कालीन एक महाशाखा प्रमुखले भने, ‘यसबाहेक अख्तियारकै अभिलेखमा नदेखिने अरू क्रियाकलापको कुनै हिसाब छैन ।’ 

कान्तिपुर दैनिकबाट 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 14 =