धरानमा किरिया पुत्रिले समेत गरे मतदान (फाेटाे फिचर)
मंसिर १४, धरान । सुनसरीको धरानमा मेयर र वडाध्यक्षका लागि भईरहेको उपनिर्वाचनमा किरिया पुत्रिले समेत मतदान गरेका छन् । धरान उपमहानगरपालिका वडा नम्बर ७ मा किरिया पुत्रिले मतदान गरेका हुन् ।
आमाको निधनमा ८ दिनदेखि क्रिया बसिरहेका किरिया पुत्रि मोती सुबेदी र उनकी श्रीमती ममता सुबेदीले धरान ७ को सिद्धि नेवाः परिसदको ख मतदान केन्द्रबाट मतदान गरेका छन् । धरानको बिकासको लागि अहिलेको उपनिर्वाचन महत्वपुर्ण रहेकोले आफुहरु शोकमा भए पनि मतदान गर्न आएको सुबेदी दम्पतीले बताएका छन ।
धरानको उपनिर्वाचनमा २३ जनाले उम्मेद्वारी दिएका छन् । जसमध्ये नेकपाबाट प्रकाश राई र नेपाली कांग्रेसबाट तिलक राईको मुख्य प्रतिष्पर्धा छ । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, नेपाल लोकतान्त्रिक पार्टीबाट नित्यराज काफले, राप्रपा लोकतान्त्रिकबाट भीम बहादुर लिम्बु, आमुल परिबर्तन मसिहा पार्टीबाट छत्र बहादुर बिश्वकर्मा, समाजवादी पार्टीबाट गजेन्द्र बहादुर लिम्बु, नेकपा मालेबाट एकराज सुब्बा, साझा पार्टीबाट राजन कुमार श्रेष्ठ, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बर बहादुर लिम्बु, राप्रपा संयुक्तबाट कुमार बराईली, राप्रपाबाट रोशन बिश्वकर्माले उम्मेद्धवारी मनोनयन गरेका छन् ।
त्यसैगरी मेयर पदमा राजनीतिक दल बाहेक स्वतन्त्रबाट दावा शेर्पा, हर्कराज राई, श्याम कृष्ण पहाडी, बिशाल थापा, दिनेश श्रेष्ठ, एनिषा राई, कुमार भट्टराई, अमृत कुमार राई, जर्नाधन कोईराला, मनराज राई र रुद्र बस्नेत कोे पनि उम्मेद्वारी छ ।
वडा नं ७ को अध्यक्षका लागि नेकपाबाट जीवनराज सुवेदी, कांग्रेसबाट सुवर्णमोहन पलिखे, संघीय लिम्बुवान मञ्चबाट नीता राई र राप्रपाबाट दिनेश शाक्य उम्मेद्वार छन् । उप निर्वाचनमा नेकपाका प्रकाश राईले धरान १८ स्थित कारमेल हाई स्कुलको निर्वाचन केन्द्रमा मतदान गर्दै जनपरिचालनको हिसाबले आफुले जित हासिल गरिसकेको तर, घोषणा गर्न मात्र बाकी रहेको बताएका छन ।
नेपाली कांग्रेसका तिलक राई र स्वतन्त्र उम्मेद्धबार हर्क साम्पाङ राईलेपनि धरान १८ कारमेल हाई स्कुलबाटै मतदान गरेका छन् । कांग्रेसका तिलक राईले जनताको बौद्धिकतामा उभार आएको उल्लेख गर्दै कांग्रेसको जित सुनिश्चित भएको दाबी गरेका छन । भने अन्य दल तथा स्वतन्त्र उम्मेद्वारहरुले पनि आफुहरुलाई मतदाताले साथ दिने भन्दै बिजयी हुने दावी गरेका छन् ।
आजको निर्वाचन ३७ जिल्लामा हुन लागेकाले पनि देशैभर चुनावी माहोल छ । आज प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन सदस्यका लागि निर्वाचन हुदै छ । बाँकी ४८ पदमा स्थानीय तहका पदाधिकारी निर्वाचित हुनेछन् । एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि निर्वाचन हुदैछ । स्थानीय तहका ५२ पदका लागि तीन सय ३४ जना प्रतिस्पर्धामा छन् ।