नन्दिनी दुग्ध सहकारीले डेरी उद्योग बनाउँदै, मन्त्री लामाले गरे सिलान्यास

मंसिर १, चितवन ।   चितवनको खैरहनी नगरपालिका १० शान्तिवजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले डेरी उद्योग निर्माण सुरु गरेको छ । 

दुग्धजन्य पदार्थ निर्माण गर्ने उदेश्यका साथ निर्माण गर्न लागिएको उद्योग भवनको आईतवार एक समारोहका बीच प्रदेश नम्वर ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिलान्यास गरे । शिलान्यास समारोहकलाई सम्वोधन गर्दै सहकारी मन्त्री लामाले समृद्धीको आधार कृषि, पशुपंक्षी, उद्योग र पर्यटन रहेको बताए । 

मुलुक समृद्ध बनाउन संघीय, प्रदेश र स्थानीय सरकार मिलेर कृषि, पशुपंक्षीलाई प्राथमिकता दिएको भन्दै मन्त्री लामाले कृषकहरु पनि जागरुक हुनु पर्ने धारणा राखे । प्रदेश सरकारले पूर्वी चितवनलाई लक्षित गर्दै डेरी उद्योग स्थापना गर्ने योजना बनाएको भन्दै मन्त्री लामाले जग्गा खोज्न आग्रह समेत गरे । 

खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले कृषि र पशुपालनको प्रवद्र्धन विना मुलुकको विकास संभव नरहेको औल्याए । किसान सहकारीले दुध बेच्ने मात्र नभई यसबाट बन्ने परिकार बनाउन सके दुबै पक्षलाई फाईदा पुग्ने प्रमुख चौधरीले बताए । किसानको हितका लागि खैरहनीमा शीत भण्डार निर्माण भईरहेको, माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको नगर प्रमुख चौधरीको भनाई थियो ।   

 संस्था र संस्थामा आवद्ध शेयर सदस्यहरुबाट रकम संकलन गरेर उद्योग निर्माण गर्न लागिएको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कमलराज थपलियाले बताए ।  

४५ लाखको लागतमा भवन निर्माण गर्ने र वाँकी ३५ लाख मेसिन खरिद गरि कुल ८० लाख रुपैयाको लागतमा उद्योग स्थापना गर्ने लक्ष्य लिईएको थपलियाले जानकारी दिए । उद्योगबाट मिठाई, आईसक्रिम, पुष्टकारी, ललिपप लगायत दुग्धजन्य पदार्थ उत्पादन गरिने छ । यसअघि सो दुग्ध उत्पादक सहकारी संस्थाले दही, नौनी, पनिर र घीउ उत्पादन गर्दै आएको छ ।  

२०५० सालमा स्थापना भएको सो सहकारीमा हाल दैनिक ३ हजार ५ सय लिटर दुध संकलन हुदै आएको छ । संस्थाका निवर्तमान अध्यक्ष समेत रहेका केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सदस्य वालकृष्ण उप्रेतीका अनुसार सहकारीले ७५ प्रतिशत अनुदानमा पशु बिमा गरेको,प्रतिलिटर थप ३ रुपैया बाेनस दिँदै आएको, घाँसको बीउ निशुल्क उपलव्ध गराउँदै आएको, न्युन आय भएका सदस्यहरुलाई वार्षिक ६ प्रतिशतका दरले व्याजदरमा पशुपालन ऋण उपलव्ध गराईएको, पशु सुत्केरी भत्ता गाईलाई ५ सय र भैसीलाई १ हजार रुपैया प्रदान गर्दै आएको छ ।  

केन्द्रिय सदस्य उप्रेती दुधको विविधिकरण विना किसान र दुग्ध उत्पादक सहकारी संस्थाको विकास हुन नसक्ने बताउँछन् । नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कमलराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शुशिल कडेंलले स्वागत मन्तव्य राखेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *