‘धरानमा कम्युनिष्टहरूले नमुना नगरपालिका बनाएको इतिहास छ’

कात्तिक २८, धरान । २०४६ सालको जनआन्दोलन पश्चातको देशमा प्रजातन्त्र बहाली भईसकेपछि २९ वर्षको अवधिमा २३ वर्ष सम्म नेपाली काँग्रेसले सरकार चलाएपनि धरानको विकासमा भने कम्युनिष्टकै योगदान रहेको मजदुर नेता तथा पत्रकार भिम राई ‘ज्वाला’ले दावी गरेका छन ।
धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनमा नेकपाको प्रचारप्रसार संयोजक रहेका भिम राई ‘ज्वाला’ले धरानको विकासमा नेपाली कांग्रेसको कुनै हात नरहेको जिकिर गर्दै उक्त दावि गरेका हुन् ।
धरानमा बास्केटबलका खेलाडिहरूसँग भएको अन्र्तकृया कार्यक्रममा भिम राई ‘ज्वाला’ले भने–‘ ३० वर्षे इतिहासमा कम्युनिष्टहरूले ३ वर्ष मात्र सरकार चलाएको इतिहास छ तर, काँग्रेस सरकारमा हुँदापनि धरानबासीलाई केहि दिएन । बरु कम्युनिस्टहरूले धरानलाई नमुना नगरपालिका बनाएका छन् ।’

भिम राई ‘ज्वाला’ले ३० वर्षको अवधिमा अपराधमा मुछिएका जुनसुकै अहोदाको व्यक्ति पनि कानुन भन्दा माथी हुन्न भन्ने उदाहरण नेकपाको सरकार भएकै बेला मात्र सतहमा आएको दावि पनि गरे ।
पछिल्लो उदाहरण प्रस्तुत गर्दै राईले भने–‘नेकपाको सरकारमा नेकपाबाट बहालवाला सभामुख महरालाई कारवाही भएको छ । आलमको अपराध काँग्रेसको सरकार भएको बेला सामसुम पारिएको थियो । अहिले सतहमा आउँदा काँग्रेसको नेता नै कारवाही हुनु हुँदैन भनी लागि परेका छन । यी कुराले जनताको सच्चा पार्टी भनेको नेकपा रहेको प्रष्ट भएको छ ।’
२०५४ साल पछि देशमा निर्वाचित जनप्रतिनिधी नभएको अवस्थामा कर्मचारीतन्त्र हुँदा धरानमा राजनैतिक संयन्त्र अनुसार नगर सञ्चालनमा तत्कालिन नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको भिम राई ‘ज्वाला’ को तर्क छ । उक्त समयमा धरान उपमहानगरपालिकामा खेलकुदका लागि नेपाली कांग्रेसको हातमा डाँडु पुन्यु हुँदा पनि धरानमा खेलकुदको उल्लेख्य विकास नभएको जनता माझ छर्लङ्ग रहेको समेत बताए ।
तर ०७४ सालको स्थानिय निर्वाचन पश्चात नेकपाको नेतृत्वमा धरान खेलकुद ग्राम निर्माण गर्ने, विषयगत रंङ्गशाला निर्माण गर्ने, खेलकुदको राजधानी बनाउने, हरेक खेलको विकासका लागी वडा वडामा प्रतियोगिता हुने, सकृय खेल जिवनको अवकाश पश्चात समेत खेलाडीको वृत्तिविकासका लागि रोजगारी सृजना गर्ने लगायतको योजना अघि बढिसकेको राईको भनाई छ ।
कार्यक्रममा राईले यसपटक करीब ४० वर्षे लामो राजनैतिक पृष्ठभूमीबाट हालसम्म कुनै पनि राजनैतिक लाभ नलिएका विकास प्रेमी उम्मेद्वार प्रकाश राईलाई नेकपाले धरानको मेयर पदको उम्मेदवारमा उठाएको बताउँदै खेलाडिहरूलाई आफनो मताधिकारको प्रयोग गरी उचित उम्मेद्वारलाई मत हाल्न आग्रह समेत गरे ।
यस अघिको स्थानिय निर्वाचनबाट निर्वाचित धरानका प्रमुख स्व. तारा सुब्बाको भिजनमा सल्लाह दिने व्यक्ति नै यस पटकको उम्मेद्वार भएकाले बाँकी रहेको धरानको विकासको योजनाले मुर्त रूप पाउनेमा ढुक्क रहन राईले आग्रह गरे । कार्यक्रममा खेलाडिहरूले हिजोसम्म खेर गएको मतलाई प्रयोगमा ल्याउने र बास्केटबल लगायत खेलकुद र युवाहरूको विकासका लागि काम गरेको स्थानिय सरकारको पक्षमा नै मतदान गर्ने धारणा राखेका थिए ।
अढाई वर्षको अवधिमा स्थानिय सरकारले आफ्नो लगानीमा धरानको ५ वटा सामुदायिक विद्यालयमा बास्केटबल मैदान निर्माण गरेको स्मरण गर्दै ८ औ राष्ट्रिय खेलकुदमा पुरूष तर्फका प्रदेश नं. १ का बास्केटबल क्याप्टेन नविन राईले स्थानिय सरकारको खेलकुद प्रतिको सहयोग उदाहरणिय रहेको बताए ।
बास्केटबल मैदान बहुउपयोगी हुने गर्दछ । जसमा भलिबल, ब्याडमिन्टन र सेपाकटाक्रो लगायतको खेलका लागि एकै मैदान प्रयोग गर्न सकिने भएकाले धरान उपमहानगरपालिकाले बास्केटबल कोर्टको निर्माणका लागि सहयोग गर्नेमा तदारूकता देखाएको छ ।








