उपनिर्वाचन : ६५.४३ प्रतिशत मत खस्यो, आजैबाट गणना हुने

मङ्सिर १४, काठमाडौँ । तीनै तहका रिक्त पदमा आज भएको मतदानमा ६५.४३ प्रतिशत मत खसेको छ।
हुम्लामा र रौतहटमा ८५ प्रतिशत मत खसेको छ भने रोल्पा थवाङमा वडाध्यक्षका लागि भएको मतदानमा १०९ मात्रै मत खसेको छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज साँझ पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको बताए ।
null
मतदानका क्रममा कास्की, लम्जुङलगायत ठाउँमा बम विस्फोट भए पनि खासै असर नपरेको थपलियाले बताए। आयोगले मतदाता परिचय पत्र नभए पनि अन्तिम मतदाता नामावलीमा नाम भएका मतदातालाई नागरिकता वा राहदानीलगायत परिचय पत्रबाट पनि मतदान गर्न दिएको थियो।
थपलियाका अनुसार तीनै तहका रिक्त पदका लागि चार लाख ५४ हजार मतदाता थिए। तीमध्ये दुई लाख ९७ हजार मत खसेको छ। ‘७० प्रतिशत मत खस्छ भन्ने आँकलन थियो,।
संघीय निर्वाचन क्षेत्र सदस्यका लागि कास्की २ मा भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको आयोगको भनाइ छ। यहाँ २०७४ सालमा खसेकोभन्दा कम मत खसेको छ। कास्की २ मा ४६ हजार पाँच सय मत खसेको हो।
यस्तै भक्तपुरमा ७० प्रतिशत, दाङमा ६७ प्रतिशत, धरानमा ५९ प्रतिशत मत खसेको छ।
उनका अनुसार ‘रौतहट र हुम्लामा ८५ प्रतिशत मत खस्यो। थवाङमा १६.४ प्रतिशत मात्रै खसेको छ। जति मत खस्यो त्यो गणना हुन्छ,उपनिर्वाचनका लागि चार सय १९ पर्यवेक्षक खटिएका थिए।
निर्वाचन आयोगले मतपेटिका संकलन गरेपछि राजनीतिक सहमति गरेर आजै देखि नै मतगणना थाल्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आग्रह गरिसकेको छ।








