सुकुटे बस दुर्घटनाः मृतक १७ मध्ये, ९ जना दोलखाको काटकुटीका मात्रै, गाउँ नै शोकमा

कात्तिक १८, काठमाडौँ । दोलखा शैलुङ गाँउपालिकाको वडा नम्बर ५ काटाकुटी अहिले शोकमा डुबेको छ । सिन्धुपाल्चोकको सुकुटेमा आईतबार दिउँसो भएको यात्रुबहाक बस दुर्घटनामा काटाकुटीकोमात्र ९ जनाको मृत्यु भएपछि अहिले सिंगो गाँउनै शोकमा डुबेको वडा नम्बर ५ का वडा अध्यक्ष किरण बस्नेतले बताए ।   

दशैँ र तिहारको रमाईलो सकिन नपाउदै गाँउमा रुवाबासी भएको छ ‘वडा अध्यक्ष वस्नेतले भन्नु भयो ।’ दुर्घटनामा घाईते भएकाहरुको उपचारको लागि धुलिखेल अस्पतालमा रहेका अध्यक्ष बस्नेतले भने, ‘गाँउमा अहिले सबै जम्ममा भएर रुवाबासी गरिरहेका छन् । गाँउमा यति ठूलो विपत्ति कहिल्यै परेको थिएन् ।’ 

काटाकुटीबाट आईतवार विहान ७ बजे यात्रुवहाक बस छुटेको थियो । उक्त बस शैलुङ गाँउपालिकाकै वडा नम्बर ४ बागखोरमा पुगेर बस्ने र त्यसको यात्रुलाई अर्को बसमा राखेर काठमाडौँ पठाउने समितिको नियम अनुसार काटाकुटीका यात्रुहरु बागखोरबाट शैलुङ यातायातको बा २ ख ७२४५ नम्बरको बसमा चढेका थिए । बागखोरबाट ९ बजे काठमाडौको लागि छुटेको उक्त बस दिउँसो सिन्धुपाल्चोकको सुकुटे बीच रिर्सोट नजिक सुनकोसी नदिमा खसेर दुर्घटना भएको थियो ।   

दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये काटाकुटीकामात्र ९ जना परेको र काटाकुटीकै १५/१६ जनाको घाईते अवस्थामा धुलिखेल अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष बस्नेतले बताए । उपचार भइरहेकोमध्येमा पनि तीन जनाको अवस्था गम्भीर रहेको वडा अध्यक्ष वस्नेतले बताए ।   

दुर्घटनामा परी वडा नम्बर ५ काटाकुटीकी बर्ष ५२ की चेतकुमारी वस्नेत, नाम नखुलेको उनको भदा, ४५ बर्षका रत्नकुमारी राउत र उनको छोरा बर्ष २९ का किरण राउत, बर्ष २० को कविता राउत, सानु राउत, बर्ष १४ का निखिल खड्का लगायत नौ जना रहेको वडा अध्यक्ष बस्नेतले बताए । 

मृतकहरु अन्यमा दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ३ का तीन महिनाको रोशन तमाङ, बर्ष ३२ का निर्मला खड्का, दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडाको २४ वर्षीय रञ्जीता केसी, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाँउपालिका वडा नम्बर ४ जलजलेकी २८ वर्षीय चमेली श्रेष्ठ र निजको ६ वर्षीय छोरी साया श्रेष्ठ, दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ४ मागाको ६ वर्षीय सलिना तमाङ, बर्ष १४ का दिल लामा, काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाँउपालिका वडा नम्बर ४ का सजिना तमाङ र दोलखा जिल्लाको बर्ष ७० को उरमाया मोक्तानको सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *