सार्क क्षेत्रमा विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनु पर्ने

कात्तिक २४, काठमाडौँ । दक्षिण एसिया क्षेत्रीय स्तरको विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विषयमा सम्बद्ध पक्षहरुबीच छलफल भएको छ ।   

सार्क क्षेत्रका सदस्य राष्ट्रहरुका प्रतिनिधिहरु, रेडक्रसका प्रतिनिधिहरु तथा संयुक्त राष्ट्रसंघीय र साझेदार निकायहरुबीच  तीन दिने पूर्वतयारी छलफल कार्यक्रम काठमाडौँको बुढानिलकण्ठमा सम्पन्न भएको हो ।   

कार्यक्रममा विपद्का दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा रहेको दक्षिण एसियामा मौसम परिवर्तन र तापमान बृद्धिको कारणले मानिसहरु अझ समस्यामा पर्नसक्ने भएकोले सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी ठोस कार्य गर्नुपर्ने आवश्यकता औँल्याएको छ । 

प्राकृतिक विपद्को समयमा सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी सार्क सदस्य राष्ट्रहरुबीचको सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग गर्न सार्क सचिवालय र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको संयूक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिप्स, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारी प्रतिनिधिहरु र ती देशका  रेडक्रस रेडक्रिसेन्टका प्रतिनिधिहरु र सार्क सचिवालय, सार्क खाद्य बैंक, युएन ओचा, विश्व खाद्य कार्यक्रम, एडीपीसी, युनिसेफ नेपाल, आइसीआरसी नयाँदिल्ली क्षेत्रीय कार्यालय र स्वीस रेडक्रसका प्रतिनिधिहरुले नोभेम्बर ४ देखि ६ सम्म  छलफल गरेका थिए भने  भारतसमेतका सबे देशका  रेडक्रस रेडक्रिसेन्टका प्रतिनिधिहरुले सहयोगी भूमिका सम्बन्धमा छलफल गरेका थिए ।   

बैठकले प्राकृतिक विपद्को समयमा सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी सार्क सदस्य राष्ट्रहरुबीचको सम्झौता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सबै सदस्य देशहरुमा कानुनी  र नीतिगत तयारी गर्न, एक आपसको सिकाइलाई थप ध्यान दिन  तथा सूचना, सञ्चार र चेतना बढाउन आव्हान गरेको छ । 

सार्क क्षेत्रमा विपद् पूर्वतयारीका लागि बैठकले औँल्याएको गर्नु पर्ने केही कार्यहरु 

 १. सूचना, सञ्चार र जनचेतना वढाउन 

क. समन्वय र सूचना सम्प्रेषणलाई चुस्त बनाउन हरेक राष्ट्रले तत्काल फोकल प्वाइन्ट तोक्नुपर्ने । 

ख. सार्क स्तरमा विपद् सम्बन्धी मुख्य केन्द्रको रुपमा सार्क विपद् व्यवस्थापन केन्द्रको औपचारिक स्थापना र क्षमता वृद्धि 

ग. इन्फोग्राफिक्स, श्रव्यदृश्य सामग्री तथा सामाजिक सञ्जालजस्ता माध्यमबाट सरोकारवाला र जनसमक्ष सूचना सम्प्रेषण 

२.क्षमता विकास र सिकाईको पक्षमा जोड दिनः   

क. संयुक्त हिसावले क्षमता अभिवृद्धिका गतिविधिको बिस्तार 

ख. सम्बन्धित देश र रेडक्रसको अन्तरक्रियामा अभिवृद्धि 

ग. क्षेत्रीय स्तरमा कृतिम अभ्यासहरुको आयोजना 

३. आन्तरिक र क्षेत्रीय नीति नियमहरुको सुदृढीकरण गर्नः   

क. विपद् सम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय मार्गनिर्देशन अनुसार हरेक मुलुकले नीति नियमहरुको नक्शांकन, विश्लेषण र मुल्याँकन 

ख. नीति नियमहरुको नक्शांकन, विश्लेषण र मुल्याँकनमा सम्बन्धित देशका सान्दर्भिक मन्त्रालय र प्राधिकरणहरुको सहभागिता बढाउने   

ग. नीति नियमहरुको नक्शांकन, विश्लेषण र मुल्याँकन जस्ता क्षेत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक सहयोग बढाउने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *