मकवानपुरमा दुई क्विन्टल भन्दा बढी लागुऔषध जलाएर नष्ट

२०७६ मंसिर १० गते

मंसिर १०, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा बरामद गरेको ठूलो परिमाणको गाँजा र चरेससहित लागुऔषध जलाएर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहित नागरिक समाजका प्रतिनिधि, पत्रकारलगायतको रोहबरमा विभिन्न खालका सवा दुई क्विन्टलभन्दा बढी लागुऔषध सोमबार नष्ट गरिएको प्रहरीले जनाएको छ ।
बरामद लागुऔषधलाई मकवानपुरको भिमफेदी गाउँपालिका–१ किसेडी खोलामा जलाएर नष्ट गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।
उनका अनुसार गाँजा २१० केजी ६०० ग्राम, चरेश १३ केजी ४२ ग्राम, फेनारगन, डाइजेपामलगायत लागुऔषध ५६५ एम्पुल, कोरेक्स करीब एक लिटर, विनसिरेक्स सात बोतल र नाइट्रोभेट ६८६ ट्याब्लेट जलाएर नष्ट गरिएको छ । रासस

२०७६ मंसिर १० गते
प्रतिक्रिया