राष्ट्रपतिकाे जापान भ्रमण फलदायी

कार्तिक ७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापानको भ्रमण गरी स्वदेश फिर्ता भएकी छन् ।  

राष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार राति आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको जापान भ्रमण फलदायी भएको बताए । उनले यस भ्रमणले द्विपक्षीय सहयोग तथा सम्बन्ध बिस्तारमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरे । 

जापानका सम्राट नारुहितोको गद्दी आरोहणमा सहभागी भएकी राष्ट्रपति भण्डारीले त्यस अवसरमा जापान सरकारलाई धन्यवाद दिनुका साथै जापानका सम्राट, सरकार तथा जापानका जनतालाई बधाई एवं सुख शान्ति एवं समृद्धिको शुभकामना प्रकट गरेको गृहमन्त्री थापाले जानकारी दिए । 

Image result for राष्ट्रपति विद्यादेवी भण्डारी

हालै जापानमा आएको आँधी बेहरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले समवेदना प्रकट गरेको जानकारी दिए । गृहमन्त्री थापाका अनुसार राष्ट्रपति भण्डारीले त्यस अवसरमा नेपालले गरेको ऐतिहासिक, राजनीतिक स्थायित्वबाट सामाजिक विकासका लागि अनुकूल अवस्था सिर्जना भएको बताएकी थिइन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई मूर्त रुप दिन सरकारले विकासका लागि स्पष्ट नीति, लगानीमैत्री वातारवरण बनाउन चालिएका कदमबारे प्रकाश पारेकी थिइन् । 

नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेकाले जापानको पुँजी प्रविधि सीप र ज्ञान नेपालका लागि महत्वपूर्ण हुने भन्दै राष्ट्रपति भण्डारीले व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनको क्षेत्रमा दुई देशबिच सहकार्य हुनसकेमा जनस्तरको सम्बन्धमा बिस्तार हुन जाने विश्वास व्यक्त गरेकी थिइन् । 

त्यसैगरी राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापान सरकार तथा जनताको सहयोग रहने अपेक्षा गरेकी थिइन् । जलवायु परिवर्तन र पर्यावरणीय असन्तुलनका नकरात्मक असरका सम्बन्धमा विश्व समुदायको ध्यानकर्षण तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेपालले सन् २०२० को अप्रिलमा आयोजन गर्ने सगरमाथा संवादमा जापान सरकारको तर्फबाट उच्च तहको सहभागिताका लागि अनुरोध गरेकी थिइन् । 

जापान सरकारको निमन्त्रणालाई स्वीकार गरी जापानका सम्राट्को गद्दी आरोहण समारोहमा सहभागिता जनाएकोमा जापानका प्रधानमन्त्री सिन्जो आबेले राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएको गृहमन्त्री थापाले बताए । राष्ट्रपति भण्डारीसँग जापानका प्रधानमन्त्रीले गरेको भेटमा नेपाल–जापानबिच रहिआएको सुमधुर सम्बन्ध र नेपालको सामाजिक आर्थिक विकासमा जापानको सदैव साथ रहने विश्वास दिलाएका थिए । 

जापानका प्रधानमन्त्रीले नेपालको पूर्वाधार विकास तथा मानव संशाधनको विकासका लागि जापानको निरन्तर साथ र सहयोग रहने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक पर्ने सहयोग गर्ने आवश्यक प्रतिबद्धता व्यक्त गरेका थिए । 

राष्ट्रपति भण्डारीले म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कार्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गरेकी थिइन् । उनी कात्तिक ३ गते जापानी सम्राट नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यानमारबाट जापानतर्फ प्रस्थान गरेकी थिइन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *