म भागेको छैन’ भन्दै सम्पर्कमा आए लम्बोदर न्यौपाने

असोज २४, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज प्रकरणमा सबैभन्दा बढि मुछिएका तत्कालिन कलेजका कार्यकारी अध्यक्ष मकालु खबरको सम्पर्कमा आएका छन् । गत असोज १० गते मकालु खबरमा प्रकाशित समाचारलाई लिएर लम्बोदर न्यौपाने स्वयं मकालु खबरको कार्यालयमा आए ।   

असोज १२ गते मकालु खबरको प्रधान कार्यालय अनामनगर, घट्टेकुलोमा अन्य ५ जना सहित आएका लम्बोदर न्यौपानेले प्रकाशित समाचार प्रति असन्तुष्टी जनाउँदै आफु सम्पर्क विहिन नभएको तथा कलेज निजी रुपमा नै सञ्चालन भएको जिकिर गरेका छन् ।   

अघिल्लो दिन कार्यालय आएर प्रकाशित समाचार पूर्वाग्रही र आपराधिक भएको जिकिर गर्दै खण्डन लिएर आएका न्यौपानेले भोली पल्ट पुनः सोहि कुरा दोहोर्याउँदै समाचार पत्रकारिताका मूल्य मान्यता विपरित ब्यक्तिगत जिवनमा प्रवेश गरी तयार पारिएको बताए । ‘यो समाचार खोजेर तयार पारिएको हैन, कसैले बनाएर पठाएको हो, यसरी ब्यक्तिगत जिवनमा प्रवेश गर्न पाइदैन ।’ लम्बोदर न्यौपानेले मकालु खबरलाई भने ।  

न्यौपानेले नेपाल इन्जिनियरिङ कलेजका सन्दर्भमा मकालु खबरले प्रकाशित गरेको सम्पूर्ण समाचार गलत र पूर्वाग्रही रहेको दावि गर्दै भने ‘तपाईहरु कोबाट परिचालित हुनुहुन्छ स्पष्ट छ, नेपाल इन्जिनियरिङ कलेज पहिले पनि निजी थियो र अहिले पनि छ, हामीसँग सबै प्रमाण छ, त्योपनि अध्ययन गर्नुस ।’ न्यौपानेले एक वर्षअघि पनि मकालु खबरमा आएर आफ्ना मान्छेहरु पठाएर प्रमाण दिएको भन्दै ‘तपाईहरुले निष्पक्ष पत्रकारिताको धज्जी उडाउनु भयो, मलाई जिउँदै मार्नुभयो ।’ भने ।   

नेपाल इन्जिनियरिङ कलेजका विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा चलिरहेकोले फैसलालाई प्रभावित बनाउने चलखेल भइरहेको र त्यसमा मकालु खबरले सहयोग गरेको समेत आरोप लगाए । ‘अदालतमा विचाराधिन विषयमा धेरै बोल्न हुँदैन, तपाईहरुले अति नै गर्नुभयो । समाचार लेख्नुस केहि फरक पर्दैन तर, कम्तिमा मेरो पनि भनाई आउनु पर्यो । एक पक्षिय हुन भएन’ न्यौपानेले भने ।   

लम्बोदर न्यौपानेले आफु अझैपनि कलेजको अध्यक्ष भएको र दीपक भट्टराई लगायतले जवरजस्ती कलेज कब्जा गरेको दावि गरे । ‘नेपाल इन्जिनियरिङ कलेज सामाजिक संस्था हो भने, देखाउनु पर्यो नी प्रमाण कहाँ दर्ता भएको छ भनेर ?’ उनले भने–‘दीपक भट्टराईले १७४ रोपनी सरकारी जग्गा खान खोजेको प्रमाण मसँग छ, त्यो किन खोज्नुहुन्न ?’ उनले भने । 

स्मरण रहोस मकालु खबरले विगत १ वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजको विवादका सन्दर्भमा लगातार फलोअप प्रकाशित गर्दै आइरहेको छ । मकालु खबरलाई प्राप्त डकुमेन्ट, नेपाल सरकार संसदीय समितिको शिक्षा तथा स्वास्थ्य उपसमितिले कलेजमा भए गरेका अनियमितताका सन्दर्भमा छानविन समिति गठन गरेर तयार पारेको प्रतिवेदन, कलेजको लेखापरिक्षणले देखाएको अनियमितता तथा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० सालमा दर्ता भएको दर्ता प्रमाणपत्रलाई आधार बनाउँदै कलेज सामाजिक संस्थाकै रुपमा दर्ता भएको र तत्कालिन कार्यकारी अध्यक्ष हुँदा लम्बोदर न्यौपानेले कलेजको करोडौं रकम अपचलन गरेको देखिएको छ ।   

सोहि सन्दर्भमा कलेजका सञ्चालक दीपक भट्टराईले नेपाल इन्जिनियरिङ कलेजमा भएका अनियमितता छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत नेपाल सरकारका विभिन्न निकायमा उजुरी दिएका थिए । लम्बोदर न्यौपानेले उक्त उजुरी तामेलीमा राख्नकै लागि भन्दै विभिन्न ब्यक्ति मार्फत अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घूस दिएको भिडियो नै सार्वजनिक भइसकेको छ । यसैगरी सोहि सन्दर्भमा सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत कलेजबाट करिब एक गाडी काजगात लिएर अनुसन्धान गरिरहेको अवस्था छ ।   

यसका अलावा लम्बोदर न्यौपानेले ०७४ सालमा आन्तरिक राजस्व कार्यालयमा कर छुटका लागि पठाएको एक पत्रमा समेत उक्त कलेज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामाजिक संस्थाका रुपमा दर्ता भएको भन्दै आफैंले हस्ताक्षर गरेको पत्रको कपी, जिप्रका भक्तपुरमा दर्ता भएको दर्ता प्रमाणपत्रको रंगीन कपी समेत मकालु खबरसँग रहेको छ । यसका साथै कलेजको लेखा परिक्षणले दिएको अडिट रिपोर्ट जसलाई हाल सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आधिकारिक मानेर अनुसन्धान गरिरहेको छ त्यसको कपी समेत सुरक्षित रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *