जवरजस्ती करणीकाे आरोप लागेपछि सभामुख महराले यसाे भने

असोज १३, काठमाडाैं । संघिय संसदका सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणीकाे विषयमा धारणा सार्वजनिक गरेका छन् । साेमबार एक महिला कर्मचारीले श्रीमान घरमा नभएकाे माैका छाेपी महराले आफुलाइ जवरजस्ती करणी गरेकाे आराेप लगाएकी थिइन् । उक्त विषयमा सभामुख कृष्णबहादुर महराको सचिवालयले खण्डन प्रकाशित गरेको छ । 

महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमवार राती विज्ञप्ति प्रकाशित गरी आरोप निराधार भएको बताएका हुन् । मदिराको मातमा महराले एक महिला कर्मचारीलाई जवरजस्ती गरेको समाचार विभिन्न अनलाइन सञ्चार माध्यममा आएपछि सचिवालयले खण्डन गरेको हो ।   

कर्मचारी समायोजनको बिषयलाई लिएर महिला कर्मचारीले असन्तुष्टी पोखेको विज्ञप्तिमा जनाईएको छ। सभामुखलाई लगाईएको निराधार र कपोलकल्पित आरोपप्रति सचिवालयले कडा आपत्ती जनाईएको जारी विज्ञप्तीमा भनिएको छ। 

यस्ताे छ महराको सचिवालयले जारी गरेको विज्ञप्ति   

सभामुखज्यूको बारेमा आएका भ्रामक समाचारबारे खण्डन 

सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु । 

 समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु । 

 संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ । 

 यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो/भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु । 

मिति, २०७६।०६।१३ 

डिल्ली मल्ल 

सभामुखज्यूको प्रेस सल्लाहकार 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *