चितवनमा ७ पालिका मध्ये माडीको प्रगति उच्च

कार्तिक १, चितवन ।  चितवन जिल्लाका पालिकाहरु मध्ये माडी नगरपालिकाको कार्यप्रगति उच्च देखिएको छ । जिल्ला समन्वय समिति चितवनले शुक्रवार आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा अन्य पालिकाको तुलनामा माडीको प्रगति राम्रो देखिएको हो ।  

प्रस्तुत प्रतिवेदन अनुसार माडी नगरपालिकाले गत आर्थिक वर्षमा ९८ .५६ प्रतिशत प्रगति गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेंलले बताए । अन्य पालिकाहरुको प्रगति ९५ प्रतिशत भन्दा कम छ । कार्यक्रममा भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका,खैरहनी नगरपालिका,राप्ती नगरपालिका,कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाहरुले गत वर्ष गरेका कार्यप्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले अन्य पालिकाको तुलनामा माडी नगरपालिकाको प्रगति राम्रो रहेको वताए । ‘अन्य पालिकाहरुले काम नगरेका होईनन्, काम सबैको राम्रो छ’ जिसस प्रमुख डल्लाकोटीले भने । ‘त्यस मध्ये पनि माडीको प्रगति प्रभावकारी र उच्च छ’ उनले थपे । पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेकै उपस्थितीमा आयोजित समिक्षामा नगरपालिकाको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै कर्मचारी अभाव चुनौतीको विषय रहेको बताएका थिए । 

कार्यक्रममा पालिकाहरुको तर्फबाट गत आर्थिक वर्ष २०७५/०७६ मा गरेका आर्थिक, भौतिक,सामाजिक,वातावरण तथा विपद लगायतको प्रगति विवरण प्रस्तुत गरिएको थियो । जिल्ला भित्रका पालिकाहरुको विकास निर्माण लगायतको अनुगमन र समन्वय गर्न जिल्ला समन्वय समितिलाई अधिकार दिईएको छ ।  सोही अवसरमा संघीय र प्रदेश सरकार मातहतमा रहेका कार्यालयहरुले समेत गत वर्ष गरेको प्रगति विवरण पेश गरेका थिए ।  

जिल्ला  समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेल, राष्ट्रिय सभा सदस्य पार्वती रावल, प्रदेश साँसदहरु,सातै पालिकाका प्रमुख एवंम् उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, प्रमुख प्रशासकीय अधिकृतहरु लगायत विभिन्न सरकारी कार्यालयका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *