शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एआई कन्फ्रेन्स’ आयोजना गर्दै

असोज २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धित कन्फ्रेन्स आयोजना गर्ने भएको छ । गत शुक्रबार मन्त्रालयमा बसेको मन्त्री सहितको वैठकले कार्यक्रमको तयारीको लागि संयोजनको जिम्मा मन्त्रालयका सचिव सञ्जय शर्मालाइ दिइएको छ भने सल्लाहकार समितिको अध्यक्षमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह रहेका छन् । 

सम्मेलन हालै जारी गरिएको विज्ञान, प्रविधि तथा नव पर्वर्तन नीति अनुरुप देशभरीको विज्ञान प्रविधिको गतिविधि समेटेर तयार पार्न लागेको ‘क्यालेन्डर इभेन्ट’ अन्र्तगत हुनेछ । हालै जारी गरिएको नीतिमा प्रविधिहरुलाई विशेष महत्वको साथ देशको विकासमा विज्ञान प्रविधिलाई मूल प्रवाहिकरण गर्ने उदेश्य अन्तर्गत कार्यक्रमको आयोजना गर्न लागिएको मन्त्रालयले बताएको छ ।  

विज्ञान, प्रविधि तथा नव पर्वर्तन नीति कार्यान्वयन गर्ने दिशामा एआई कन्फ्रेन्स कोशेढुंगा सावित हुने विश्वास लिएको मन्त्री गिरीराजमणि पोखरेलले बताए । विश्वमा जारी चौथो औद्योगिक रिभोलुसन अन्तर्गत एआई युगमा विश्व प्रवेश गरेको सन्दर्भमा राष्ट्रलाई त्यसतर्फ अघि बढाउने, नीति निर्मातालाई सचेत र जागरुक बनाउदै एसडिजीका लक्ष्यहरु हासिल गर्न यो सम्मेलन सार्थक हुने मन्त्री पोखरेलको भनाई छ ।   

प्राम्भिक तयारी अनुसार सम्मेलन ३ देखि ५ दिनसम्म आयोजना हुनेछ । सम्मेलनमा सहभागी हुन विश्वभरका प्रतिष्ठित एआई विज्ञहरु नेपाल आउनेछन् । उक्त सम्मेलनमा मुलुक भित्र र वाहिरका विज्ञहरुसँगै नीति निर्माता, विदेशी संघसस्था र सरोकारवालाहरुको उल्लेख्य सहभागिता हुने जनाइएको छ ।   

इर्मर्जिङ प्रविधिहरुमा केन्द्रित रहेर सरकारले आयोजना गर्ने यो सम्मेलन नेपालको लागि पहिलो तर उत्तिकै महत्वपुर्ण हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *