चिनियाँ राष्ट्रपतिको भ्रमणमा ‘फ्रि तिब्बत’ समर्थक २२ जना पक्राउ

फायल तस्विर 

असोज २५, काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा प्रदर्शनको तयारी गरिरहेका २२ जना ‘फ्रि तिब्बत’ समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

काठमाडौंको वौद्ध, स्वयम्भु र फर्पिङबाट २२ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । प्रदर्शनको तयारी गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Image result for free tibet movement in nepal

उनीहरुको साथबाट फ्री तिब्बत लेखिएको टिसर्ट, झोला लगायतको सामग्रीसमेत बरामद भएको छ । उनीहरुको साथबाट टिबेटिएन झण्डा समेत भेटिएको छ भने फ्री तिब्बतको नारा लेखिएको ट्रयाकसुट लगाएको व्यक्ति पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा अधिकांश तिब्बती नागरिक छन् भने केही नेपाली नागरिकलाई पनि पक्राउ गरिएको छ । यद्यपि पक्राउ परेकाहरुले प्रदर्शनको तयारीबारे भने केही बताएका छैनन् । 

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा प्रदर्शन हुन सक्ने आशंकामा उपत्यकाका तीनै जिल्लाका सबैजसो गुम्बाहरुमा प्रहरीको निगरानी बढाइएको छ । फ्रि तिब्बतको प्रदर्शन हुन सक्ने भन्दै ती गुम्बाहरुमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले वौद्धक्षेत्रमा सबैभन्दा बढी सुरक्षा सतर्कता अपनाएको छ । तिब्बती शरणार्थीको क्याम्प समेत भएकाले वौद्ध क्षेत्रमा प्रदर्शन हुनसक्नेतर्फ सचेत हुँदै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको प्रहरीले जनाएको छ । त्यसैगरी वौद्धक्षेत्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ भने अपरान्ह ती क्षेत्रहरुमा हिंडडुल गर्न समेत नदिने गरी प्रहरीले सुरक्षाको प्रबन्ध मिलाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *