भरतपुर महानगर बन्यो सडक मानवमुक्त नगर

कार्तिक ९, चितवन । चितवनको भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी, वेसहरा, अभिभावकविहीन सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । शनिबार एक समारोहकाबीच प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भरतपुर महानगरलाई सहयोगापेक्षी, वेसहरा, अभिभावकविहीन सडक मानवमुक्त महानगर घोषणा गरिएको हो । 

त्यसका लागि महानगरपालिकाले १२ दिन सम्म अभियान सञ्चालन गरेर सडकमा रात बिताउनेहरुलाई उद्धार गरेको थियो । सो अभियान पश्चात शनिबार सहयोगापेक्षी, वेसहरा, अभिभावकविहीन सडक मानवमुक्त घोषणा गरिएको हो । 

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहलाई घोषणा पत्र हस्तान्तरण गरे । देशको ६ महानगरपालिका मध्ये भरतपुर महानगर मध्ये यो घोषणा गर्नेमा पहिलो बनेको छ । घोषणा समारोहलाई सम्वोधन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक पूर्वाधार निर्माण मात्र विकास नहुने भन्दै मानविय संवेदनशीलतालाई समेत बुझ्नु पर्ने बताए । ‘भौतिक पुर्वाधारलाई मात्र विकास भन्ने गरिन्छ ।’ मुख्यमन्त्री पौडेलले भने–‘सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि सवै पक्षको विकास गर्नुपर्छ ।’ मुख्यमन्त्री पौडेलले मानव सेवा आश्रमले गर्दै आएको यो मानविय सेवाको दायित्व सरकारले लिनु पर्नेमा जोड दिए । ‘मानबीय सेवाको कामबाट सरकार पन्छिन पाउँदैन ।’ उनले भने–‘तीनै तहको सरकारले दायित्व लिनु पर्छ ।’ 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घोषणा गर्नु ठुलो कुरा नभएको भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताईन् । ‘घोषणा नगरी निरन्तरता हुदैन ।’ प्रमुख दाहालले भनिन्–‘चुनौतीका बीच सबैको सहकार्यमा यसलाई सफल पार्नुपर्छ ।’ घोषणा निरन्तरका लागि भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन र मानव सेवा आश्रमबीच चौपक्षिय सम्झौता भएको छ । उनीहरुले जिम्मेवारी र दायित्व समेत बाँडफाड गरेका छन् ।   

सडक मानवमुक्त महानगर घोषणा अघि सञ्चालित अभियानका क्रममा नगरको मुख्य बजार क्षेत्रबाट करिव ३ सय जनाको उद्धार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । ‘त्यस मध्ये ८ जनालाई मात्र साहारा दिनु पर्ने देखिएको थियो । जाँडरक्सी खाने, विकृती फैलाउने, मगन्तेको काम गर्नेहरु रहेका छन् ।’ उनीहरुलाई परामर्श दिएर पठाईएको अधिकारीले बताए ।   

कार्यक्रममा बीरगंज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार, नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, समाजसेवी प्रभातकुमार जोशी लयागतले मन्तव्य राखेका थिए ।   

सो अवसरमा भरतपुर महानगर प्रमुख दाहालले उपस्थित सबैलाई प्रतिवद्धताको सपथग्रहण समेत गराएकी थिईन् । घोषणा अघि नारायणगढको क्याम्पाचौरदेखि महानगर परिसरसम्म र्यालि निकालिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *