दशैंमा सौराहाको पर्यटन–कतै उत्साह, कतै निराशा

असोज २० चितवन । विदाको समय जो कोही पनि रमाउन चाहन्छन् । रमाउनका लागि नयाँ नयाँ ठाँउमा जाने, नयाँ योजना बनाउने, साथी भाईसँग भेटघाट गर्ने आदि गरिन्छ ।   

चाडवाडमा घुम्न लायक मध्येको एक हो चितवनको सौराहा । सौराहा देशकै तेश्रो पर्यटकीय गन्तव्य पनि हो । वन र वन्यजन्तुकै कारण सौराहा विश्वमाझ चिनिएको छ । वन र वन्यजन्तु नै सौराहाको प्रमुख विषेशता हो । यसका अलावा यहाँको आदिवासी थारु समुदायको संस्कृति, विभिन्न सफारीका कारण पनि सौराहाको पर्यटनले फड्को मारेको छ ।  

नेपालीहरुको महान चाड विजया दशमीको विदा छ अहिले । यही मौका छोपी कतिपय स्वदेशी पर्यटकहरु सौराहा आएका छन् । विदेशी पर्यटकका लागि पनि सिजन सुरु भईसकेको छ । दशैंको बेला सौराहामा गत वर्षको तुलनामा यसपटक पर्यटकको संख्या न्युन रहेको होटल तथा रेस्टुरेन्ट व्यवसायीहरु बताउँछन् । सौराहाको राप्ती किनारका रेस्टुरेन्टहरुमा पर्यटकहरु रमाएको देख्न सकिन्छ तर, समग्रमा सौराहामा यस वर्ष पर्यटकको संख्यामा कमी आएको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले बताए ।  

 ‘दशैंको नव दुर्गा लागेसँगै विगतमा पर्यटकको वाक्लो उपस्थिती हुन्थ्यो ।’ संघका अध्यक्ष भट्टराई भन्छन्–‘पोहोरको तुलनामा यो वर्ष ५० प्रतिशत पर्यटक घटेका छन् ।’ गत वर्ष कोठा पुर्याउनै मुस्किल परेको उनले सुनाए । भट्टराईका अनुसार बास बस्ने पर्यटक अहिले खासै छैनन् । तर, राप्ती ड्याम साईडका रेस्टुरेन्टमा भने पर्यटक देख्न सकिन्छ ।   

चितवनमा फैलिएको डेंगीको संक्रमणका कारण पनि पर्यटक यहाँ आउन नरुचाएको हुन सक्ने उनको ठम्याई छ । होटल व्यवसायीहरुले दशैं तिहारका बेला खाना र बस्नमा १५ देखी २० प्रतिशत सम्म छुटको व्यवस्था गरेका छन् । होटल व्यवसायीहरुले पर्यटकको संख्या ज्यादै न्युन रहेको बताएपनि राप्ती ड्याम साईडमा रहेको राप्ती रेस्टुरेन्ट एण्ड बार रुफ टपका सञ्चालक पुरुषोतम लामिछाने भने सन्तोषजनक रुपमा पर्यटकहरु आईरहेको बताउँछन् । गत वर्षकै हाराहारीमा पर्यटक सौराहा आएको उनको दावी छ । 

 शनिवार र आईतवार राप्तीका पप साईडमा प्रशस्त पर्यटकहरु रमाई रहेको देख्न सकिन्थ्यो । रेवान सौराहाका सदस्य समेत रहेका राप्ती रेस्टुरेन्टका सञ्चालक लामिछानेले आफ्नो रेस्टुरेन्ट खाली नभएको बताए । ‘खाली बस्नु परेको छैन, उल्टै सेवा पुर्याउन सकिएको छैन ।’ उनले भने–‘विगत दुई तिन दिनदेखीको व्यापार सन्तोषजनक छ ।’  

राप्ती ड्याम साईडबाट राप्ती नदि, वन र सुर्यास्त हेर्न पाईन्छ । लामिछानेले ड्याम साईड तिर पर्यटक प्रशस्त आईरहेको दावी गर्दा सौराहाको हात्ती चोकमा रहेको अलफ्रेस्को रेस्टुरेन्टका सञ्चालक समेत रहेका रेवानका निवर्तमान अध्यक्ष गोकर्ण गिरी यो दशैंमा निराश बन्नु परेको बताउँछन् । ‘अघिल्ला वर्षहरुमा भ्याई नभ्याई हुन्थ्यो ।’   

गिरीले भने–‘अहिले पर्यटक कतिवेला आउँछन् भनेर कुरेर बस्नु परेको छ ।’ सौराहामा साना ठुला गरि अहिले १२० वटा होटल तथा ५६ भन्दा वढि रेष्टुरेन्टहरु रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *