राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य नेताहरुले कोबाट लगाउँदैछन् भाइटिका ?

कात्तिक १२, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज अन्तिम दिन भाइटिका मनाइदैछ । आज बिहान ११ः५५ को शुभ साइतमा भाइटिकाको शुभ साइत रहेकोले राष्ट्रपति, प्रधानमन्त्री तथा ठूला दलका शिर्षस्थ नेताहरुले सोहि साइतमा आफ्ना दिदिबहिनीबाट भाइटिका ग्रहण गर्ने छन् ।   

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना तीन भाईमध्ये दुई भाईलाई टिका लगाइ दिने छिन् । राष्ट्रपतिका जेठा भाई तेजेन्द्र पाण्डे र डेगेन्द्र पाण्डेलाई टिका लगाइदिने छिन् । तेजेन्द्र अमेरिकाबाट नेपाल आइसकेका छन् भने माइला भाई टेकेन्द्र भने अमेरिकामै छन् । कान्छा भाई डेगेन्द्र नेपालमै छन् ।   

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वालुवाटारमा दुई बहिनीबाट भाइटिका लगाउने छन् । प्रधानमन्त्री ओलीलाई बहिनीहरु विष्णुमाया ढकाल र कौशिला कोइरालाले भाइटिका लगाउने छन् । प्रधानमन्त्रीकी अर्की बहिनी राजु मिश्रले भने प्रधानमन्त्रीका भाई जयप्रसाद ओलीलाई झापामा टिका लगाउने छिन् । 

यता कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालाले नेतृ सुजाता कोइरालाबाट भाइटिका लगाउने भएका छन् । सुजाताले बीपीका जेठा छोरा प्रकाशलाई पनि भाइटिका लगाउने छिन् । बीपीका कान्छा छोरा श्रीहर्ष विदेशमा रहेकाले यस वर्ष सुजाताले भाइटिका लगाइदिन पाउँदिनन् । 

कांग्रेस नेता रामचन्द्र पौडेल भाई टिका लगाउन चितवनको माधवपुर गएका छन् । पौडेलका चार दाजुभाईलाई चार दिदीबहिनीले टिका लगाइदिने कार्यक्रम छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले चाबहिल मित्रपार्कमा बस्ने रेणु खड्का र उनकी बहिनीबाट भाइटिका लगाउने छन् । यसअघि केही वर्ष भने निधिले राजविराज र धनुषामा रहेका दिदी र बहिनीको हातबाट भाइटिका लगाउने गरेका थिए ।   

पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको भने पारिवारिक जुठो छ । यसपटक उनी भाइटिका नलगाउने भएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकी हजुरआमाको यस वर्ष निधन भएकाले भाइटिका लगाउने लगाउँदैनन् । 

नेकपाका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने भाइटिका लगाउने वा नलगाउने टुंगो भएको छैन । उनले बडादसैंमा पनि टिका लगाएका थिएनन् ।   

भाइटीकाको विधि 

टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । अश्वस्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, मार्कण्डेय, पर्शुराम अष्ट चिरञ्जीवी भित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सय पत्रीको माला, रोटी, मिठो-मिठो परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ । 

त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । 

सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *