दुनियाँभर चीनको लगानी ५० खर्ब डलर, नेपालमा कति ?

असोज २६, काठमाडौँ । भेनेजुएलामा ७७ अर्ब, पाकिस्तानमा ३५ अर्ब, लाओसमा १६ अर्ब, इथियोपियामा १४ अर्ब, श्रीलंकामा आठ अर्ब डलर ऋण लगानी गरेको चीनले नेपालमा ३६ करोड ऋण प्रवाह गरेको छ l 

चीन विश्वकै सबैभन्दा ठूलो आधिकारिक ऋणदाता बनेको छ । उसले सन् २०१८ सम्ममा विश्वका विभिन्न मुलुकमा ५० खर्ब अमेरिकी डलर ऋण लगानी गरिसकेको छ । यो रकम विश्वको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ६ प्रतिशत हो ।   

सन् २००० मा चीनको यस्तो लगानी पाँच खर्ब डलर थियो, जुन विश्वको जीडीपीको एक प्रतिशत मात्रै हो । जर्मनीको कीएल इन्स्टिच्युट अफ वर्ल्ड इकोनमीले हालै सार्वजनिक गरेको अध्ययनअनुसार चीनको ऋण तथा अनुदानको आकार १८ वर्षमा १० गुना बढेको छ । यो तथ्यांकअनुसार चीन अहिले विश्वको सबैभन्दा ठूलो आधिकारिक ऋणदाता (अफिसियल क्रेडिटर) बनेको छ ।   

null

चीनले गरेको आर्थिक सहायतामध्ये ८० प्रतिशत उदीयमान बजार तथा गरिब मुलुकमा गएको पनि अध्ययनको निष्कर्ष छ । तर, चीनसँग सीमा जोडिएको नेपालमा भने हालसम्म चिनियाँ सरकारी अनुदान तथा ऋणको मात्रा नगन्य मात्रै छ ।   

छिमेकी मुलुकको तुलनामा पनि नेपालले चीनबाट पाएको ऋण तथा अनुदानको आकार अत्यन्तै सानो छ । सन् २०१७ मा पाकिस्तानले चीनबाट ३५ अर्ब अमेरिकी डलर (३५ खर्ब रुपैयाँभन्दा बढी) सहायता  पाएको छ । यो उसको जीडीपीको साढे ११ प्रतिशत हो ।   

तर, नेपालले भने २०१७ सम्म ३६ करोड ३४ लाख अमेरिकी डलर ऋण सहयोग प्राप्त गरेको अर्थ मन्त्रालयको तथ्यांक छ । यो नेपालको सो वर्षको जिडिपीको तुलनामा एक दशमलव ४६ प्रतिशत मात्रै हो । 

विश्वमा चीन 

सन् १९५२ मा चीनको कुल गार्हस्थ उत्पादन ३० अर्ब अमेरिकी डलर थियो । सन् २०१८ मा १३६ खर्ब १० अर्ब डलर पुगेको छ । ७७ करोड चिनियाँ गरिबीको रेखाबाट बाहिर निस्किएका छन् । सहरी क्षेत्रमा बसोवास गर्ने मानिसको संख्या १०.६ प्रतिशतबाट ५९.६ प्रतिशत पुगेको छ । सन् २०१८ सम्म चीनमा एक लाख ३२ हजार किलोमिटर रेलमार्गमा रेल गुडिरहेको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुन सफल भएको छ । विश्व व्यापारमा पहिलो, विदेशी मुद्रा सञ्चिति सबैभन्दा धेरै भएको मुलुक चीन बनेको छ । सात दशकयता चीनले विश्वशान्ति, विकास र अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय भूमिका निर्वाह गरेको छ ।   

७० वर्षअघि जम्मा १८ देशसँग कूटनीतिक सम्बन्ध रहेको चीनले अहिले १८० देशसँग कूटनीतिक सम्बन्ध विकास गरेको छ । एक सय १० देशसँग उसको साझेदारी विस्तार भएको छ । विश्व शान्तिसेनामा पठाउने राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्यराष्ट्रको सूचीमा चीन अग्रपंक्तिमा छ । स्वतन्त्र व्यापार सिद्धान्तमा चीनले प्रतिबद्धता जनाएको छ ।   

सबैभन्दा ठूलो विकासशील देशका रूपमा चीनले एक सय ६० देशलाई चार अर्ब चिनियाँ युआन सहयोग गरेको छ । यी देशका करिब पाँच हजारभन्दा बढी परियोजनामा चीनले ७० वर्षयता ६ लाखभन्दा बढी कामदार विदेशमा खटाएको छ ।   

चीन ४० भन्दा बढी अल्पविकसित मुलुकको सबैभन्दा ठूलो लगानीकर्ताका रूपमा स्थापित भएको छ । सन् २०१३ मा चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सुरु गरेयता एक सय ६० देश तथा अन्तर्राष्ट्रिय निकायसँग बीआरआईअन्तर्गत साझेदारी गरेको छ । चीन र अन्य देशका कम्पनीबीच ६४ अर्ब डलरबराबरका परियोजनामा सम्झौता भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *