जेष्ठ सदस्यलाई पोषण खर्च, एकल महिलालाई प्रेरणा रकम

कात्तिक ९, काठमाडौं । चितवनको राप्ती नगरपालिका ५ मा रहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई पोषण खर्च वितरण गरेको छ । साथै एकल महिलाहरुलाई प्रेरणा रकम समेत प्रदान गरेको छ । 

चालु आर्थिक वर्षदेखि यी दुई कार्यक्रम सुरुवात गरिएको संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले बताए । अघिल्लो वार्षिक साधारण सभाले आफ्ना जेष्ठ सदस्यलाई पोषण खर्च र एक महिलालाई प्रेरणा रकम स्वरुप मासिक ४ सय रुपैया प्रदान गर्ने निति तथा कार्यक्रम पारित गरेको थियो । 

चालु आर्थिक वर्षको कार्यक्रम अनुरुप शनिबार ४२ जना जेष्ठ सदस्य तथा १९ जना एकल महिलालाई पोषण खर्च र प्रेरणा रकम प्रदान गरिएको संस्थाका अध्यक्ष थपलियाले जानकारी दिए । जनजागृती ताजा तरकारी तथा फलफुल उत्पादन सहकारी संस्थामा आयोजित एक कार्यक्रमका बीच प्रदेश ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पोषण खर्च र प्रेरणा रकम प्रदान गरे । 

सहकारीका अध्यक्ष थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा, सहकारीका उपाध्यक्ष डाल बहादुर श्रेष्ठ, सचिव रामचन्द्र हुमागाँई लगायतले मन्तव्य राखेका थिए । भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले दशैमा पर्व मनाउन वार्षिक रुपमा किसानले सहकारीमा विक्री गर्न ल्याउने किसानलाई प्रति लिटर ४ रुपैया २५ पैसाका दरले बोनस वितरण गर्दै आएको छ । 

यस्तै घाँसको बीउमा अनुदान, कृतिम गर्भाधान लगायत सबै सुविधा निशुल्क गर्दै आएको छ । भण्डारा सहकारीमा ९३२ जना शेयर सदस्य छन् । सहकारीमा दैनिक १० हजार लिटर दुध संकलन हुदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *