अष्ट्रेलियन राजदुतले नेपालीसँग माफी माफी माग्नुपर्छः ई. दिपेन्द्र कँडेल

कार्तिक ३, काठमाडौं । पब्लिक ईनोभेटर ई. दीपेन्द्र कँडेलले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा नेपाली मूलका अष्ट्रेलियन नागरिकले वितण्डा र तोडफोड मच्चाएको घटनाको कडा निन्दा गरेका छन् ।
कँडेलले उक्त घटनालाई लिएर आफ्ना नागरिकले विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा गरेको अभद्र र तोडफोडबारे नेपालस्थित अष्ट्रेलियन राजदुतले माफी माग्नुपर्ने पनि माग गरे ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले विमानस्थल तोडफोडमा उत्रिने नेपाली मूलका अष्ट्रेलियन नागरिकको हर्कत आफूहरुलाई मान्य नहुने पनि चेतावनी दिए ।

‘विमानस्थल भनेको संवेदनशील क्षेत्र हो । यस्तो क्षेत्रमा यसरी तोडफोड गर्नु क्षम्य हुँदैन’, उनले चूनौति दिँदै भने, ‘म अध्यागमनको हाकिम हुन्थें भने त्यो दिन ती नेपाली मूलका अष्टे«ेलियन नागरिकलाई जुन विमानबाट आएका थिए, सोही विमानमा हालेर उता डिपोर्ट गरिदिन्थेँ । र, भविष्यमा नेपाल आउन सदाका लागि बञ्चित गरिदिन्थेँ ।’
उनले यो प्रकरणमा नेपालस्थित अेष्ट्रेलियन राजदुतले जतिसक्दो चाँडो माफी माग्नुपर्ने बताए । उनले भने,‘सम्पूर्ण नेपाली जनताको अगाडि उहाँले यो घट्नाबारे गल्ती महशुस गर्दै आगामी ७ दिनभित्र माफी माग्नुपर्छ । यदि राजदुतको तर्फबाट नेपाली जनतालाई सम्बोधन गरेर माफी नआए म आगामी दिनमा यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नतर्फ केन्द्रित हुने पनि यसै पत्रकार सम्मेलनमाफर्त जानकारी गराउँछु ।’ े
कँडेलले राजदुतको तर्फबाट माफी नआए तत्काल आफूले नेपालका विभिन्न राजनीतिक दलका नेता तथा सरकारी अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघका प्रमुख र नेपालस्थित सम्पूर्ण विदेशी नियोगका प्रमुखहरुलाई भेटेर यो प्रकरणलाई अघि बढाउने पनि जानकारी दिए ।
विमानस्थलको अध्यागमनमा भएको यस्तो घट्ना नेपालमात्रै नभएर विश्वको कुनैपनि देशमा सह्य नहुने कँडेलको भनाई छ । उनले भने, ‘हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा सिधै अष्टे«लियन सरकारसँग कुरा गर्नुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । र, यो घटनालाई प्रत्येक देशले चूनौति र पाठको रुपमा लिनुपर्छ ।’
उनले यही अक्टोबर २५ भित्र नेपालस्थित अष्ट्रेलियन राजदुतले तोडफोडमा उत्रिने ती नेपाली मूलका अष्ट्रेलियन नागरिकको तर्फबाट माफी नमागे आफू कारबाहीको लागि अघि बढ्ने पनि चेतावनी दिए ।
त्यस्तै, उनले जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा राजपा नेपालका सांसद प्रमोकुमार साहले गरेको तोडफोडको घटनाको पनि निन्दा गरे । उनले भने, ‘बुद्ध एयरले यदि गल्ती नै गरेको थियो भनेपनि जनप्रतिनिधि जस्तो मान्छे, सांसदले त्यहाँ हुलहुज्जत नगरी सिधै काठमाडौं आएर विभागीय मन्त्रीलाई भेटेर कारबाहीको लागि आग्रह गर्नुपर्दथ्यो । तर, उहाँ आफैँ तोडफोडमा उत्रिनु भयो । यो गलत थियो ।’








