आगलागीमा दुई वटा ग्याँस सिलिण्डर विस्फोट हुँदा ४ कोठे घर नष्ट

असोज २६, थली । गएराती काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । राति ८ बजेतिर थलीस्थित जीतबहादुर आचार्यको टीनले छाएको ४ कोठे घर ग्याँस विस्फोट भएर जलेर नष्ट भएको हो ।
आचार्यले ३ लाख नगद, ७ तोला सुनसहित भाडाकुँडा, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएको बताए ।
भान्सामा खाना बसालेर आफू अर्को कोठामा गएको बेला छिमेकीले आगो लागेको जानकारी गराएपछि मात्रै आचार्यकी श्रीमती विन्दाले आगो लागेको थाहा पाएको बताइन् । आगलागी हुँदा घरमा राखिएका २ वटा ग्यास सिलिन्डर पड्किए । सिलिण्डर पड्किएको आवाज १ किलोमिटर परसम्म सुनिएको थियो ।

आगो निभाउन दमकल पुगेपनि घटनास्थलमा जाने बाटो नभएपछि स्थानीय र प्रहरीको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । सिन्धुपाल्चोक स्थायी घर भएका आचार्यको थलीमा कपडा पसल छ । तस्विर, मिनु सिंहकाे फेसवुकबाट









