चितवनमा काँग्रेसको उम्मेदवार घोषणाः कसैसँग सम्झौता नगर्ने उद्घोष

कार्तिक ९, चितवन ।    आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि चितवनमा नेपाली काँग्रेसले उम्मेदवारी घोषणा गरेको छ । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाको प्रमुख आतिथ्यतामा शुक्रवार सभाको आयोजना गरि चितवनको तीन वटा वडामा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरिएको हो । 

चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ तथा भरतपुर महानगरपालिकाको वडा नम्वर १६ मा उपनिर्वाचन हुँदैछ । नगरपालिकाको कामको सिलसिलामा भरतपुरबाट कार्यालय तर्फ आउँने क्रममा खैरहनी ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र ५ का वडाध्यक्ष विश्व बिजय बस्नेतको वि.सं. २०७४ माघ ६ गते सवारी दुर्घटनामा निधन भएको थियो । भने भरतपुर १६ का वडाध्यक्ष चतुरमान गुरुङको क्यान्सरका कारण निधन भएको थियो ।  

खैरहनीको २ वटै वडा नेपाली काँग्रेसले जितेको थियो भने भरतपुर १६ मा तत्कालिन नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । खैरहनी स्थित पर्सा वैंकेटमा आयोजित घोषणा सभामा आगामी उपनिर्वाचनका लागि खैरहनी ४ मा हालका कार्यवहाक वडाध्यक्ष समेत रहेका देव बहादुर बस्नेत र खैरहनी ५ मा प्रतिमा कार्की बस्नेतले उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्की तत्कालिन वडाध्यक्ष विश्व विजय बस्नेतकी श्रीमती हुन् ।  

खैरहनीका दुबै वडामा नेपाली काँग्रेसले फराकिलो मतान्तरले जित हात पारेको थियो । भरतपुर १६ मा नेपाली काँग्रेसको तर्फबाट अमृत हमालले उम्मेदवारी दिने भएका छन् । जसका लागि शुक्रबारनै उम्मेदवारी घोषणा गरिएको हो । उम्मेदवारी घोषणा सभालाई सम्बाेधन गर्दै काँग्रेसका महामन्त्री डा. कोईरालाले काँग्रेसले कसैसँग सम्झौता नगर्ने बताए । 

बिगतका कुराहरु बिर्सेर आगामी उपनिर्वाचनमा काँग्रेसलेनै काँग्रेसलाई जिताउने गरि खटिन कार्यकर्तालाई उनले निर्देशन दिए । नेपाली काँग्रेस खैरहनी नगर समितिका सभापति शशी कुमार खनियाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य जीवन परियार, काँग्रेस जिल्ला सभापति जीत नारायण श्रेष्ठ, निवर्तमान सभापति टेक प्रसाद गुरुङ, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी लगायतले मन्तव्य  राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *