महराविरुद्ध प्रहरीमा जाहेरी, प्रहरीले पक्राउ गर्ने सम्भावना

असोज १९, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा जाहेरी परेको छ । अब महरालाई प्रहरीले पक्राउ गर्ने सम्भावना समेत छ । 

जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहरी दिएकी हुन् । काठमाडौं प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको पुष्टि गरे । 

यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति करिब ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो । महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमान्सँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् । पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् । 

Image result for महरा

यद्यपि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो । अब पीडित महिलाले जाहेरी दिएसँगै अनुसन्धान अघि बढाउन प्रहरीलाई सहज भएको छ । कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज र अन्य प्राविधि पक्षको विश्लेषणले महरा घटनास्थलमा पुगेको पुष्टि भइसकेको प्रहरी दाबी छ । 

यसअघि शुक्रबार मात्र मानवअधिकार आयोगले यसबारे भइरहेको अनुसन्धानबारे प्रहरीसाग जानकारी मागेको थियो भने प्रहरी अनुसन्धान ठीक भए नभएको अनुगमन गर्न टोली नै बनाएको छ । अन्तराष्ट्रिय समुदायले पनि संयुक्त वक्तव्य जारी गर्दै महरा प्रकरणबारे उल्लेख नगरी यौन हिंसाका घटनाहरुको निश्पक्ष छानविन गर्न माग गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *