असनको तिहारः पाइला राख्ने ठाउँ छैन ! (२० तस्विर)

कार्तिक ७, काठमाडौं । उसै त असन–न्यूरोड बजार, त्यसमाथि चाडवाडले छोपेको, सोच्नुस् त भीड कति होला ? पाइला राख्ने ठाउँ छैन !   

काठमाडौंका रैथानेदेखि राजधानी बाहिरका मानिसहरुको किनमेल गर्ने थलो हो असन । असन बजारमा नुनदेखि सुनसम्म आवश्यक सबै सामग्री सस्तो मूल्यमा पाइने भएका कारण बिहान बेलुकी सधैँ भीड लाग्छ । तिहार (दिपावली) नजिकिएसँगै भने ग्राहकको भीड मात्रै होइन व्यापारीको पनि घुइँचो छ ।   

भारतको सीतामढीका सुजित कुमारले नेपालमा व्यापार थालेको १५ वर्ष भयो । अरु समय कपडा बोकेर सुन्धारा, रत्नपार्क पुग्ने उनी तिहारमा असन बजार छिर्छन् ।   

असनमा उनले कपडा होइन, सप्तरंगी टिका बेच्छन् । दिनमा २ हजारदेखि २५ सय सम्मको व्यापार हुन्छ । तिहारभरीमा १२ देखि १५ हजार फाइदा हुने उनी बताउँछन् ।   

‘दिनको कति नाफा हुन्छ भन्ने हिसाब हुँदैन । किनकी दिनकै सामान थपिन्छ । कति सकियो थाहा नै हुँदैन । त्यसैले हामी एकमुष्ट हिसाब गर्छौँ, तिहार सकिएपछि’, सुजितले भने । भाइटीकाको दिनमा उनी घर जानेछन् छठ मनाउनका लागि । तिहारमा कमाएको पैसाले छठको खर्च टर्ने उनको भनाइ छ ।   

तिहारकै मौका छोपेर असन छिरेका अर्का व्यापारी हुन् रौतहटका राजेश रजत । १६ वर्षका राजेश काठमाडौं आएको ४ वर्ष भयो । यता उनी एक्लै बस्छन् । आमा, भाइ र बहिनी रौतहटमै छन् । उनका पीताले भने संसार छोडिसकेका छन् ।   

यसअघि खेलौना बोकेर काठमाडौंको सडक बजार डुल्दै आएका उनले यो वर्ष तिहारमा भने पालाको व्यापार सुरु गरेका छन् । असोज २८ गतेदेखि उनको व्यापारीक थलो नै असन बनेको छ । ७ कक्षासम्म पढेका उनको दिनको व्यापार २ देखि ३ हजारसम्मको छ । ‘एक दिनमा २–३ हजारको व्यापार हुन्छ । फाइदा ५–७ सय जति हुन्छ दिनमा’, उनले भने ।   

गोठाटार बस्ने अम्बिका चौलागाईँ असन बजारमा ढाका टोपी बेच्नमै व्यस्त छिन् । श्रीमान् बाहिर निस्किएका कारण भ्याइ नभ्याइ छ उनलाई । उनको पसलमा १ सयदेखि ५ सयसम्मका ढाका टोपीहरु छन् । दिनमा व्यापार कति हुन्छ, फाइदा कति हुन्छ उनलाई खासै थाहा छैन । तिहारमा धेरै व्यापार हुन्छ, यति मात्रै थाहा छ उनलाई ।  

‘धेरै वर्ष भयो असनमा ढाका टोपीको पसल राखेको । सबै कारोबार श्रीमानले गर्ने हुँदा व्यापार र फाइदाबारे मलाई थाहा हुँदैन । अरु समयमा भन्दा तिहारमा अलि बढी हुन्छ, यति मात्रै थाहा छ’, अम्बिकाकाे भनाइ छ । 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *