वर्षमा ४ वटा दशैँः असोजको विशेष किन ? यस्तो छ सोह्र श्राद्ध र दशैँबीचको कनेक्सन
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
दशैँ भन्नेबित्तिकै एउटा छुट्टै उमंगले स्पर्श गर्छ । खुशीयाली छाउँछ घर–घरमा । कति परदेशी स्वदेश फर्कन्छन् यही दशैँका लागि । वर्षभर कहरले छुट्टीएर बसेका परिवार पनि दशैंमा एकजुट हुने गर्दछन् ।
दशैँ लागे लगत्तै गाउँघरतिर लिङ्गे पिङ हालिन्छ । साथै घर लिपपोत गरी सजाइन्छ । घर, आँगन, गाउँ, टोल, बस्तीहरु समेत सफासुग्घर राखिन्छ । घटस्थापनादेखि नवमीसम्म देवीको नौ रुपको पूजा गरिन्छ भने टिकाको दिनमा आफ्ना नाता कुटुम्ब, ठुलाबडा र मान्यजनहरुको हातबाट टिका जमारा थाप्ने गरिन्छ । महान चाड दशैँ पर्व सबैभन्दा लामो पर्व पनि हो । यो १५ दिनसम्म मनाइन्छ ।
दशैंको विभिन्न धार्मिक किवंदन्तीहरु पाइन्छ । यही तिथिमा माता दुर्गाले भौतिक सुख सुविधाका लागि अरुलाई दुःख र कष्ट दिने, शोषण गर्ने महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती रहेको ज्योतिष पण्डित तथा बडागुरु डा. माधवप्रसाद भट्टराई बताउँछन् ।
‘विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हाँसिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ’, उनले भने । असत्यमाथि सत्यको विजय भएको सन्दर्भमा दशैँ मनाउने गरिएको उनको भनाइ छ ।
नौ देवीको पूजा
दशैँमा मुख्य नौ देवीको पूजा हुन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक फरक देवीहरुको पूजा गरिन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिरात्रीको पूजा गरिन्छ । साथै चण्डी पाठ गरी नवदुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना हुन्छ ।
देवी देवताको पूजा पाठ गर्नाले मनमा शान्ति तथा शरीरमा सकारात्मक ऊर्जा, ज्ञान प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ ।
दशैंको मुख्य पूजा र उत्सवः फुलपाती (महासप्तमी), महाअष्टमी र महानवमी
महासप्तमीः नवरात्रिको सातौँ दिनलाई फुलपाती अर्थात् महासप्तमी भनिन्छ । नौ किसिमका फूलपातीहरु देवी स्थापना गरिएको घरमा भित्र्याउनु पर्छ । यो दिनमा बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, उखु, केरा, हलेदो, दारिम, विभिन्न प्रजातिका फुलहरु गरी नौ किसिमका फुलपाती भित्र्याएर बढाईँ गरिन्छ । यस दिन विशेष गरी महासरस्वती तथा पुस्तक, कापी, कलम आदिको पनि पूजा गरिन्छ । किसानहरुले भने यस दिन खेतमा चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्दछन् ।
महाअष्टमीः नवरात्रिको आठौँ दिन हो महाअष्टमी । यस दिन महाकाली र भद्रकालीको विशेष पूजाआजा गरिन्छ । मांशाहारीहरुले यो दिन देवीदेवतालाई पूजा गर्दा बलि दिने गर्दछन् भने शाहाकारीहरुले नरिवल, कुविन्डो, घिरौँला आदि फल अर्पण गर्ने गर्दछन् । यसै दिन खेतीमा प्रयोग हुने हातहतियारको पनि पूजा गर्ने प्रचलन छ । दशमीका दिन यसलाई विसर्जन गरिन्छ ।
महानवमीः नवरात्रको नवौँ दिन अर्थात् महानवमीका दिन विशेषगरी सिद्धिरात्री देवीको पूजा गरिन्छ । नवमी नवरथाको अन्तिम दिन हो । भोलिपल्ट टिका लाइने हुँदा अघिल्लो दिन दशमीको पूर्व सन्ध्या धुमधामसँग भगवतीको पूजा हुन्छ । अष्टमीमा बलि नगर्नेहरुले नवमीमा गर्ने चलन पनि छ ।
विजयादशमीः टिका, जमरा र आशिर्वाद
नवरात्रीको दशौँ दिनलाई विजयादशमी भनिन्छ । दशमीको दिनमा घटस्थापनाको दिनमा स्थापना गरिएका सबै देवीदेवताहरुको पूजा भएपछि साइत हेरेर देवी विसर्जन गरिन्छ । यो वर्ष देवी विसर्जनको साइत ८ः४५ को छ । यो दिन देवीलाई बिदा गर्ने हो । त्यसपछि अनुकुल परेसम्म मानिसहरु साइत खोजेर टिका लगाउँछन् । यो वर्षको टिकाको साइत १०ः३५ मा छ ।
हामीले फूलपाती गर्दा भित्र्याएका फुलपातीहरु, जमरा जुन देवीलाई निकै मन पर्छ । ती सबै राखेर आफूभन्दा ठुलाबडा मान्यजनबाट मन्त्र तथा आशिर्वाद सहित टिका थापिन्छ यो दिन । कसैले टिकाकै दिन मात्रै टिका लगाउँछन् भने कतिले पूर्णिमासम्म लगाउँछन् ।
जमराको धार्मिक र वैज्ञानिक महत्व
गहुँ तथा जौको नवअंकुर अर्थात् जमरा लगाउनाले सुख, शान्ति, समृद्धिका साथै स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता रहेको छ । जमरा स्वास्थ्यको लागि पनि निकै उत्तम मानिन्छ । जमराले शीतलता प्रदान गर्दछ । जमराको रस बनाएर खानाले दिर्घरोग पनि निको हुने स्वास्थ्यविद्हरु बताउँछन् । त्यस्तै निधारमा प्रसादस्वरुप टीका लगाएर जमरास्वरुप शिरमा राखियो भने मानसिक पीडा र अशान्ति हटेर जाने पनि धार्मिक विश्वास छ ।
कोजागत पूर्णिमाः कहाँ सेलाउने जमरा ?
कोजागत पूर्णिमा दशैँको अन्तिम दिन हो । मानिसहरु यस दिन पनि टिका लगाउने गर्दछन् । यस दिन टिका लगाएर बाँकी भएको जमारा सफा र शुद्ध ठाउँमा विसर्जन गर्ने चलन चलिआएको छ । सकभर बगिरहेको नदिमा सेलाउँदा राम्रो यदि त्यस्तो छैन भने सफा शुद्ध ठाउँमा लगेर जमारा सेलाउनुपर्ने ज्योतिष डा. भट्टराई बताउँछन् ।
वर्षमा ४ वटा दशैँः असोजको विशेष किन ?
एक सालमा ४ वटा दशैँ पर्ने ज्योतिष माधव भट्टराईको भनाइ छ । आश्विन शुक्लपक्ष, माघ शुक्लपक्ष, चैत्र शुक्लपक्ष र असार शुक्लपक्ष । त्यसमध्ये चैत र असोजको दशैँलाई विशेष मानिन्छ । चैतको दशैँलाई बासन्ती (बसन्त ऋतु) नवरात्री भनिन्छ भने असोजको दशैँलाई शारदी (शरद ऋतु) नवरात्री भनिन्छ । अझै विशेष भने असोजको दशैँ नै हुन्छ । शास्त्रमै पनि वर्षभरी नै गरिने दुर्गा पूजामध्ये शरद ऋतुको पूजा सबैभन्दा उत्तम रहेको उल्लेख छ ।
शरद ऋतुमा भगवतीलाई सजिलै प्रशन्न पार्न सकिन्छ । पुराण, चण्डीहरुमा पनि शरद ऋतुको दुर्गा पूजालाई महत्व दिइएको छ । शरदमा प्रकृति तथा अन्न, सम्पन्नताले पनि साथ दिन्छ । यसमा अनिकाल छैन । अन्नको अभाव हुँदैन ।
चैते दशैँ पनि मनाइन्छ, तर त्यसलाई अलि कम महत्व दिएको पाइन्छ । चैततिर कति मान्छेको घरमा अन्न हुँदैन । अन्नको अभाव हुँदै जाने बेला पनि पर्छ । त्यसैले पनि यसलाई प्राथमिकतामा नराखिएको हो ।
सोह्र श्राद्धपछिको दशैँः श्राद्ध र दशैँबीचको कनेक्सन कस्तो ?
हामीले जन्मदै तीन वटा ऋण बोकेर आएका हुन्छौँ । ऋषि ऋण, पितृ ऋण, र देव ऋण । वास्तवमा सबैभन्दा पहिले ऋषिलाई मान्नुपर्छ । ऋषिले हामीलाई ज्ञान दिए जसकारण उनलाई पहिले खुशी पार्नुपर्छ । ऋषिलाई पुजेर ऋषि ऋण चुकाउने हो । विशेषगरी महिलाले तीजको ऋषिपञ्चमीका दिन र पुरुषले जनैपूर्णिमाका दिन ऋषिलाई पुजेर खुशी पार्ने चलन छ ।
त्यसपछि पितृ ऋण । देवतालाई भन्दा पहिले पितृलाई खुशी पार्नुपर्छ । श्राद्ध, तर्पण गरेर हामी पितृको ऋण चुकाउँछौँ । अनि बल्ल पालो देवताको ऋण चुकाउने । देवताको ऋण यज्ञ अनुसार पूजा गरेर तिरिन्छ । यी तीन वटै कुरा दशैँसँग रिलेटेड छन् । शास्त्रले पहिला गुरु, त्यसपछि पितृ अनि तेस्रोमा देवतालाई प्राथमिकता दिएको छ । देवताले दिए पितृले हर्छन् भन्नुको कारण पनि यही हो । देवतालाई भन्दा पहिले पितृलाई खुशी पानुपर्छ ।
टिकाः कुन देशमा कति बजेको साइत ?
नेपालमा टिका लगाउने साइत र अन्य देशमा रहेका नेपालीहरुको साइत फरक फरक रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितले गरेको पछिल्लो निर्णयअनुसार न्यूजिल्याण्डमा ८ तारेख बिहान ९ः११ बजे, साउदी अरेबियामा सोही दिन बिहान ९ः३५ बजे, हङकङमा १०ः१ बजे, सिंगापुरमा १०ः२१ बजे टिका थाप्ने साइत रहेको छ ।
हेर्नुहोस् तालिकाः
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)