एनआरएनएमा राजनीति छिरेको भन्दै पन्तले भने–‘अबदेखि महाधिवेशन नेपालमा गर्दैनौं’

काठमाडौं, १ कार्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संघभित्र राजनीति भएको बताउँदै आउँदा वर्षहरुमा नेपालमा अधिवेशन नगर्ने बताएका छन् ।
निर्वाचित भएलगत्तै पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष पन्तले नेताहरु महाधिवेशनस्थल होटलका कोठा कोठामा चहारेर संस्थामा राजनीतिकरण गर्न खोजेको भन्दै अबका दिनमा नेपालमा महाधिवेशन नगर्ने बताएका हुन् ।
‘संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजियो, सम्मेलनका बेला होटलका कोठा–कोठामा नेताहरू ल्याएर छलफल पनि भए । हामी संस्थालाई राजनीतिकरण गर्न चाहनौं, अबदेखि नेपालमा अधिवेशन गर्दैनौं ।’ पन्तले भने ‘ अबदेखि अनलाइन भोटिङ गर्छौं, एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाउँछौं ।’

पन्तले एनआरएनएले आगामी दिनमा वार्षिक १० अर्ब बैदेशिक लगानी भित्र्याउने उद्घोष समेत गरे । उनले एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने योजना रहेको बताए । पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने अठोट पनि गरे ।
आज सम्पन्न निर्वाचनमा पन्तले नेपाली कांग्रेस निकट अध्यक्षका प्रत्यासी कूल आचार्यलाई पराजित गरेका थिए ।








