ट्रकमा भेटियो ३९ जनाको शव !

कार्तिक ७, काठमाडौं । लण्डनको पूर्वमा रहेको शहर एसेक्समा एक ट्रकभित्र बुधबार बिहानै ३९ शव भेटिएका छन् । ग्रेजको वाटरग्लेड इन्डष्ट्रियल पार्क नजिकै एक ट्रकमा शव भेटिएपछि एम्बुलेन्स सेवाले पुलिसलाई जानकारी दिएको छ । 

पुलिसका अनुसार आपतकालीन सेवा पुग्नुअघि ३९ व्यक्तिको मृत्यु भइसकेको थियो । हत्याको शंकामा ट्रक ड्राइभरलाई पक्राउ गरिएको छ । 

पुलिसका अनुसार ट्रक ड्राइभरको सम्बन्ध उत्तरी आयरल्याण्डसँग छ र उनी करिब २५ वर्षका हुन् । 

एसेक्स पुलिसका अनुसार यो ट्रक बुल्गरियाको हो र शनिबार १९ अक्टोबरमा ब्रिटेनको वेल्सको होलिहेडमा प्रवेश भएको थियो । त्यहाँबाट यो ट्रक २२ अक्टोबरमा ग्रेज पुगेको थियो । 

सुरुवाती जानकारीका अनुसार मृतकमध्ये ३८ वयस्क छन् भने एकजनाको उमेर २० वर्षभन्दा कम छ । 

एसेक्स पुलिसका एक अधिकारी पिप्पा मिल्सले पत्रकार सम्मेलनमा भनेका छन्, ‘गाडीभित्र भएका सबै ३९ व्यक्तिको मृत्यु भएको छ ।’ 

उनका अनुसार अहिले शवको सनाखत हुने सकेको छैन र उनीहरु कहाँका हुन् भन्ने पनि पत्ता लाग्न सकेको छैन । पिप्पा मिल्सले भने, ‘शवको पहिचान गर्नु हाम्रो लागि सबैभन्दा ठूलो प्राथमिकता हो ।’ 

कसैसँग यसबारे केही जानकारी भए तुरुन्त पुलिसलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् । 

उनले भने, ‘मृत्युको कारणबारे पत्ता लगाउनका लागि पुलिसले विभिन्न विभागसँग मिलेर काम गरिरहेको छ ।’ 

बुल्गरियाको न्यूज वेबसाइट नेवनिकले विदेश मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ, ‘बुल्गरिया दूतावास स्थानीय अधिकारीसँगको सम्पर्कमा छ र स्थितीमाथि निगरानी गरिरहेको छ ।’ 

–एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *