कृष्णबहादुर महरा पक्राउ, उनको दशैं अब हिरासतमा

असोज १९, काठमाडौं । निबर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका महरालाई आज प्रहरीले पक्राउ गरेको छ । 

महरालाई पक्राउ गर्नुअघि प्रहरीले आजै सरकारी वकिलसँग परामर्श समेत गरेको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी दिएसँगै प्रहरीले महरालाई उनकै निवास बालुवाटारबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई बा १८ च ४०० नम्बरको निजी रातो कारमा लगेको छ । महरालााई प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले पक्राउ गरेका हुन् । 

महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोली महरालाई पक्राउ गर्न उनको निवास पुगेको थियो । सरकारी वकिलले महरालाई नियन्त्रणमा लिएर बयान सुरू गर्न सुझाव दिएका थिए । महरालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्न प्रहरीले अदालतमा अनुमति मागेको थियो । 

पक्राउ परेका महरालाई अब प्रहरीले आफ्नो हिरासतमा राखेर लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान गर्नेछ । उनको मुद्दाको सुनुवाइ भने अब २८ गतेमात्र हुनेछ । दसैं बिदा परेकोले हाल अदालत बन्द छ । जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला रहेको हो । 

घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो । जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको छ । त्रिवि शिक्षण अस्पतालमा शुक्रबार नै रोशनीको स्वास्थ्य परीक्षण गरिसकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *