सभामुखमा हाम्रो दाबी हुन्छ, राष्ट्रपतिको म्यानमार भ्रमणको उद्देश्य के हो ?: बस्नेत

असाेज ३०, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताए ।  

उनले भने,‘अहिले सभामुख पद रिक्त छ, नेपालको संविधानले पनि सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङको हुनुपर्छ भनेर व्यवस्था गरेको छ ।  

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने ‘हाम्रो पार्टी सभापतिले शेरबहादुर देउवाले भनेजस्तै हामी सभामुखमा उम्मेद्धवारी दिन्छौं ।’ 

नेता बस्नेतले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको बताए । उनले भने, ‘उहाँको भ्रमणको क्रममा सडक, हाईड्रोदेखि रेलसम्म सम्झौता भएका छन् । यो महत्वपूर्ण कुरा हो । तर, सहमति भएरमात्रै हुँदैन, कार्यान्वयन पक्षलाई पनि कडाईका साथ अघि बढाउनुपर्छ ।’   

उनले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भएपनि दौत्य सम्बन्ध स्थापना भएपछि पनि तीन वटा चिनियाँ राष्ट्रपति र ५ जना प्रधानमन्त्रीले नेपाल भ्रमण गरेको र सो अवधिमा धेरै सन्धि तथा सम्झौता भएको स्मरण गराए । तर, ती सम्झौताहरु कार्यान्वयन नभएको उनको गुनसो छ । नेपालका विभिन्न महत्वपूर्ण परियोजनामा काम गर्ने चिनियाँ ठेकेदारले कमजोरी देखाएको पनि उनले टिप्पणी गरे ।  

उनले भने,‘मेलम्ची खानेपानी परियोजनामा पनि चिनियाँहरुले काम गरेकै हो, मध्य भोटेकोशीमा पनि चिनियाँ पक्षले काम गरेका छन् । तर, परिस्थिति हामीले सोचेभन्दा फरक छन् । हामीले त कार्यान्यवन पक्ष हेर्नुपर्छ ।’ कुन–कुन परियोजना कसरी अघि बढाउने भन्नेबारे सरकारले प्राथमिकीकरण गर्नुपर्ने उनको जोड छ ।   

बस्नेतले नेपालले सडक सञ्जाललाई बढि प्राथमिकता दिनुपर्ने बताए । उनले भने,‘नेपालमा रेल बहुचर्चाको विषय बनाईयो । प्रधानमन्त्रीले त यसलाई प्रतिष्ठाको विषय नै बनाउनेगरि भाषणबाजी गर्नुभयो । अहिले चिनियाँ राष्ट्रपति आउँदा यसको सर्वेसम्म गर्ने कुरा उठेको छ । रेलबारे मेरो भनाई के हो भने यो धेरै खर्चिलो परियोजना हो । यसको लागि चार खर्बको हाराहारीमा पैसा लाग्छ ।’ 

उनले चीनसँगका नाकाहरु खोल्नतर्फ ध्यान दिन सरकारलाई सुझाव दिए । उनले तातोपानी नाका लामो समयदेखि बन्द रहेको सुनाउँदै अहिलेपनि मुखले खोलिएको भनिएपनि व्यवहारिक रुपमा बन्द नै रहेको दाबी गरे । त्यस्तै, उनले आफ्नो पार्टी सरकारकामा हुँदाखेरि अघि बढाईएको काठमाडौं–खाँडीचौरसम्मको अरनीको राजमार्गलाई चार लेखनको बनाउने कुरा अहिलेको सरकारले प्राथमिकताका साथ अघि नबढाएकोमा पनि गुनासो पोखे । उनले भने,‘यसमा हामीले चीनसँग सहमति गरेका थियौं । यसको लागि लाग्ने २४ अर्ब लागत चीनको एक्जिम बैंकले लगानी गर्ने कुरा भएको थियो ।’ 

बस्नेतले ऋण लिएर रेलमार्ग निर्माण गर्न नहुने तर्क गरे । उनले भने,‘चिनियाँ ऋण लिने देशहरुको आज के हबिगत छ ? यो कुरा हामीले हेर्नुपर्छ । श्रीलंका, केन्या, अफ्रिकी देशहरुको हालत हेर्नुस त, ऋण तिर्न नसकेर चीनले लिजमा त्यहाँको कुरा लिएको छ ।’ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा हाईड्रोको बारेमा आन्तरिक तयारी राम्रो नभएको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारले राम्रो मौकाको सदुपयोग गर्न सकेन् । यो गलत कुरा हो ।’ 

नेता बस्नेतले सरकार कति सफल वा कति असफल भनेर आफूहरुले भन्नुभन्दापनि नेकपाकै प्रभावशाली नेताहरुले यसबारेमा बोलिसकेको बताउँदै सरकार असफल भएको आरोप लगाए । उनले भने,‘भीम रावलको भनाई हेर्दापनि थाहा हुन्छ, यो सरकार सफल कि असफल भनेर । माधव नेपालले त संसदमै देश डुब्न लाग्यो माझीदाई बचाईदेउ भनेर अभिव्यक्ति दिनुभयो । भीम रावलजीले सरकारको कारण देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डता समाप्त हुन लाग्यो भनेर धेरै पटक यही लोकप्रिय मिडिया फोरम रिपोर्टर्स क्लबमार्फत बोल्नुभयो ।’ उनले विकास र परराष्ट्र सम्बन्धको कुरा गर्दा नेकपाकै नेताहरु नेपाल र रावलको अभिव्यक्तिबाट पनि सरकार असफल भएको पुष्टि भएको पनि दाबी गरे । 

 उनले सरकारले जनतालाई निराश बनाएको बताउँदै ओढे कुरा र उखान टुक्काले देश नचल्ने भन्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्य कसे । उनले भने,‘देशभित्र हामी एक भयौं भने कसैले पनि यहाँ खेल्न सक्दैन् । तर, हामीले अनै अरुलाई खेल्न दिने काम गरिरहेका छौं ।’ उनले राष्ट्रपति विद्यादेवीको म्यानमार भ्रमणको उद्देश्य के हो ? यसले देशलाई के फाईदा हुन्छ ? भन्दै प्रश्नसमेत तेर्साए । त्यस्तै, उनले प्रधानमन्त्रीको विभिन्न देशमा भएका भ्रमणको उपलब्धि के हो त ? भन्दै प्रश्न गरे ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *