नेपाल इन्जिनियरिङ कलेजका धरोहर प्रा.डा. दीपक भट्टराईको निधन

कात्तिक ११, काठमाडौं । नेपालको इन्जिनियरिङ शिक्षामा निजी क्षेत्रबाट सामाजिक कलेज सञ्चालन गरी योगदान पुर्याउने प्रा.डा. दीपक भट्टराईको निधन भएको छ । आज विहान उनको आफ्नै निवास स्थान महाराजगञ्जमा निधन भएको हो ।   

नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका संस्थापक अध्यक्ष प्रा.डा. दीपक भट्टराईको ६८ वर्षको उमेरमा निधन भएको छ ।   

तीनवर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित भट्टराईको विहान पौने नौं बजे निधन भएको हो । उनको सोमबार नै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । भट्टराईका एक मात्र छोरा शलिल भटराईले उनको पार्थिव शरीरमा दागवत्ति दिएका थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।   

उनको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गर्न पूर्वमन्त्री हरिप्रसाद पाण्डे, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, नेपाल इन्जिनियरिङ एशोसिएसनका पूर्व अध्यक्ष हरेराम श्रेष्ठ, नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेज भक्तपुरका पूर्व प्रिन्सिपल डा। राजन सुवाल, नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्व अध्यक्षलगायत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।   

प्रा.डा. दीपक भट्टराईले नेपालको इन्जिनियरिङ शिक्षामा ठूलो योगदान रहेको छ । नेपाल इन्जिनियरिङ काउन्सिलको विधान, नियमावली लगायत बनाउन डा. भट्टराईले विशेष भूमिका निर्वाह गरेका थिए । उनकै अगुवाईमा सन् १९९४ मा स्थापना भएको नेपाल इन्जिनियरिङ कलेज अहिले मुलुककै उदाहरणीय इन्जिनियरिङ कलेजका रुपमा सञ्चालनमा रहेको छ । उनलाई नेपालको इन्जिनियरिङ शिक्षाको धरोहरका रुपमा समेत लिइन्छ ।   

स्वर्गिय भट्टराई नेपाल इन्जिनियरिङ कलेज व्यवस्थापन समितिका उपाध्यक्षका रुपमा सक्रिय थिए । पछिल्ला चार वर्ष यता नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गरी अकूत कमाउन चाहन र कलेजमा करोडौं भ्रष्टाचार गर्ने कलेजकै सञ्चालकहरु विरुद्ध भट्टराईले कानुनी लडाई लडिरहेका थिए । ०७४ साल तिरका तत्कालिन कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने, कलेज सञ्चालकहरु मध्येका सांसद सुर्यबहादुर केसी, रामरत्न उपाध्याय, लवराज भट्टराई विरुद्ध राज्यका विभिन्न १४ निकायमा भ्रष्टाचारको उजुरी दिएका थिए । भट्टराईकै जोडबलमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो दिँदै कलेजमा भएको भ्रष्टाचार छानविन भइरहेको थियो ।   

डा. दीपक भट्टराईको निधनले कलेजमा ठूलो क्षती त पुगेको छ नै, कलेजको अस्तित्व जोगाउन र सामाजिक संस्थाकै रुपमा जोगाउन समेत असर पर्नसक्ने देखिएको छ । कलेजको विवाद सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकोमा पटकपटक मुद्दाको पेशी सार्ने काम भइरहेको थियो । कलेज निजीकरण गर्न चाहने पक्षले पछिल्लो समय दीपक भट्टराईको स्वास्थ्यवस्था देखेर पटकपटक मुद्दा सार्दै आइरहेकोमा उनको निधनले सामाजिक संस्था कै रुपमा कलेज सञ्चालन गर्नुपर्छ भन्ने पक्षधरलाई ठूलो असर परेको छ  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *