२९ लाख बढी नगदसहित ६ हुण्डी कारोबारी पक्राउ

कार्तिक ८, काठमाडौं । २९ लाख बढी नगदसहित ६ हुण्डी कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले ६ हुण्डी कारोबारीलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।
कार्तिक ४ गते वीरगञ्ज महानगरपालिका रजतजयन्तीबाट वीरगञ्ज बस्दै आएका भारतको मोतिहारीका ४८ वर्षीय कृष्णमोहन कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको साथबाट ५ लाख ८३ हजार ५ सय ६० रुपैयाँ नगदसहित सुनको जस्तो देखिने २ थान सिक्का, चेकबुक, भौचर बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै ७ गते बिहीबार रजतजयन्तीबाटै हुण्डी गर्न लागिएको १० लाख रुपैयाँसहित बाराको प्रसौनी–२ का वीरेन्द्र साह, बारा दौरुवाटोलका शनि जैसवाल र भारतको राम गढवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

साहको साथबाट २ लाख ५० हजार, जैसवालको साथबाट २ लाख ५० हजार र रामगढवाको साथबाट १० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
त्यसैगरी आज (शुक्रबार) बिहान वीरगञ्ज शंकराचार्य गेट अगाडिबाट हुण्डी कारोबारी गोपाल प्रसाद अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनको साथबाट हुण्डी गर्न लागिएको ९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
वीगञ्ज–१४ बाट मन्टु कुमार साह कानु पनि हुण्डी गर्न लागिएको ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन्। पक्राउ परेका ६ जनाबाट २९ लाख ३३ हजार ५ सय ६० रुपैयाँ बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








