‘‘वडाध्यक्षले ‘डुम’ भन्दै कुटे, मार्ने धम्की आयो’’

काठमाडौं, २९ असोज । रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको र न्यायका लागि उजूरी गरेपछि मार्ने धम्की आएपछि एकजना दलित विस्थापित भएका छन् । उनी न्याय माग्न राजधानी आएका छन् ।  

रुकुमको चौरजहारी नगरपालिका ३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्दा पनि न्याय नपाएको र उल्टै मार्ने धम्की आएको भन्दै राजधानी आएको बताए ।   

पीडित गोविन्द विकले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेनल गरी दोषीमाथि कडा कारबाहीको माग राखेका छन् । ‘मलाई ‘डुम ड्यांग्रा’ भन्दै कुटपिट गरेर उल्टै ज्यान मार्ने धम्की आएपछि न्यायका लागि राजधानी आएको हुँ ।’ उनले भने ।   

सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न वडा कार्यालयमै बोलाएर वडाध्यक्षले कुटपिट गरेको उनको भनाई छ । ‘सामुदायिक वन जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा छलफल चल्दै थियो । मैले हामी पनि समितिमै बस्छौं भनेपछि ‘डुम ड्यांग्रा’ भन्दै कुटपिट गरे ।’ आफूमाथिको अन्याय अरुलाई नपरोस् भनेर दोषीमाथि कारबाही अनिवार्य भएको बताए । ‘स्थानीय नेताहरुका सामु वडा कार्यालयभित्रबाट कुट्दै कुट्दै बाहिर ल्याएर जातीय गालीगलौज गरेपछि उजुरी गरेको हुँ ।’ उनले भने । 

प्रहरीमा उजुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब बढेको र स्थानीय राजनीतिक दलका नेता र दलित अगुवाले समेत गाउँमै मिलापत्र गर्न दबाब दिएको विकले गुनासो पोखे । सामुदायिक वनलाई जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा विवाद रहेकाले वन दर्ताका लागि समिति बनाउनुपर्नेमा केही स्थानीयलाई जिल्ला वन कार्यालयले बोलाएर परामर्श गरेको खुलाए । उनले भने,‘यसमा म पनि सहभागी थिएँ ।’   

कुटपिट गरेपछि वडाध्यक्ष बुढाथोकीले फोन गरेर धम्की दिइरहेको विकको भनाइ छ । प्रहरीमा उजुरी दिएपछि फेरि कुट्ने, मार्नेसम्मको धम्की आइरहेको सुनाए । गाउँका स्थानीय नेताले प्रहरीको साटो गाउँमै मिलापत्र गरी विवादलाई ढिसमिस गर्न दबाब दिएको खुलाए । तर अरुका अगाडि आफूमाथि जातीय विभेदका साथै कुटपिट भएकाले न्यायका लागि लड्ने विकले दृढता व्यक्त गरे ।   

कार्यक्रममा मुक्ति समाजका महासचिव कृष्ण बहादुर विश्वकर्माले जातीय भेदभाव गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ भन्दै उनले कुटपिट र जातीय विभेद गर्ने वडाध्यक्षलाई कारबाही माग गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *